अर्थमन्त्री शर्माले भने- फलामे छड सम्बन्धी नीति गलत भए राजीनामा दिन्छु तर सच्याउँदिन

  २०७८ भदौ २८ गते १५:३५     विकासन्युज

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत संशोधन बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेका छन् । निश्चित व्यवसायिक घरानालाई पक्षपोषण गर्ने गरी फलामे छड र सवारी साधानको अन्तःशुल्क परिवर्तन गरिएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको हो ।

अर्थमन्त्री शर्माले ल्याएको संशोधन बजेटमा आफ्ने रोलिङ प्लाण्टबाट एमएस विलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था गरिएको छ । सरकारले एमएस विलेट बनाउन प्रयोग हुने कच्च पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा झारिदिएको छ ।

अर्काेतिर एमएस विलेटको आयातमा भने अन्तःशुल्क बढाइएको छ । पहिला प्रतिमेट्रिक टन १६५० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क बढाएर २५ सय रुपैयाँ बनाइएको छ । यस्तै, एमएस विलेटको आयातमा भन्सार महसुल ४.७५ प्रतिशत बनाइएको छ ।

सरकारले ल्याएको यस्तो व्यवस्था निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने भन्दै केही उद्योगी आन्दोलित भएका छन् । सरकारको नीतिप्रति असहमति जनाउने उद्योगीले फलामे छडको आयात र विक्री बन्द गर्ने चेतावनी दिएका छन् ।

सरकारको नयाँ नीतिप्रति असहमति जनाउने केही उद्योगीले आज विहान मात्रै अर्थमन्त्री अर्थमन्त्री शर्मासँग भेट गरी आफूहरुको समस्याबारे अवगत गराएका थिए । तर, सो छलफल पनि सरकारात्मक नभएको उद्योगीको बुझाई छ ।

‘आज विहान मन्त्रीज्यूलाई भेट्ने केही उद्योगी आउनु भएको थियो, उहाँहरुले आफ्ना गुनासा तथा समस्याहरु राख्नुभयो, जवाफमा मन्त्रीज्यूले व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न यस्तो नीतिगत व्यवस्था गरिएको हो, नीति गलत भए म राजीनामा दिन र सजाय भोग्न तयार छु तर, नीति परिवर्तन हुदैन भनेर उहाँहरुलाई पठाउनु भयो,’ अर्थमन्त्री निकट स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.