पुनर्बीमा कम्पनी एउटा मात्र थपिने, क्रस होल्डिङकाे सर्तले धेरै कम्पनी तनावमा

  २०७८ वैशाख १६ गते ९:४१     विकासन्युज

काठमाडौं । अब एउटा पुनर्बीमा कम्पनी थपिने भएको छ । त्यसको लागि बीमा समितिले पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव माग गरेको छ ।

बीमा समितिले पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकोले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएकोले इच्छुक लगानीकर्तासँग प्रस्ताव माग गरेको छ ।

नयाँ कम्पनीको लागि न्युनतम पुँजी १० अर्ब रुपैयाँ तोकिएको छ । नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेका लगानीकर्ताले नयाँ कम्पनीमा नयाँ लगानी गर्न पाउने छैनन् ।

यस व्यवस्थाले नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेका नेपाल सरकार, बीमा कम्पनीहरु र यसको संस्थापक लगानीकर्ता नयाँ कम्पनीमा सेयरधनी बन्न पाउने छैनन् । पुराना लगानीकर्ता संलग्न वा क्रस होल्डिङ भेटिएमा त्यस्ता प्रस्ताव अमान्य हुने बीमा समितिले जनाएको छ ।

याे शर्तले धेरै कम्पनीहरूलाई तनाव हुने जानकारहरूले बताएका छन् । यसअघिका सबै प्रस्तावकले नेपाल पुनर्बीमाका प्रर्बद्धकलाई पनि सेयरधनी बनाएका थिए ।

यस व्यवस्था अनुसार नयाँ पुनर्बीमा कम्पनीमा १७ वटा निर्जीवन र ६ वटा जीवन बीमा कम्पनीहरुले लगानी गर्न नपाउने भएका छन् । साथै, आईएमई ग्रुप, विशाल ग्रुप, प्रभु बैंक, ग्लोवल आईएमई बैंक, एनआईसी एशिया लगायत नेपाल पुनर्बीमाका प्रर्बद्धकहरुले नयाँ कम्पनीमा लगानी गर्न पाउने छैनन् ।

दुई वा सोभन्दा बढी प्रस्तावहरु आएमा बीमा समितिको मूल्याङ्कनमा उच्च अंक प्राप्त गर्ने कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिने बीमा समितिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रस्ताव मूल्याङ्कनका आधार र विधि भने बीमा समितिले सार्वजनिक गरेको छैन । बरु सूचनाको अन्त्यमा कुनै कारण खुलाई वा नखुलाई कुनै पनि वा सबै प्रस्तावहरु बीमा समितिले अस्वीकृत गर्न सक्ने जनाइएको छ ।

प्रस्ताव पेश गर्न २१ दिनकाे समय दिइएको छ । जेठ ६ गते मध्यान्न १२ बजेभित्र प्रस्ताव दर्ता हुनु पर्ने समितिले जनाएकाे छ ।

यसअघि दर्ता भएका प्रस्तावहरु रद्द गरिएको बीमा समितिले जनाएको छ । पुराना प्रस्तावकले चाहेमा नयाँ प्रक्रियाअनुसार पुनः प्रस्ताव पेस गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.