विकास बैंकका सूचक खस्किए, वितरणयोग्य नाफा ध्वस्त

  २०८१ वैशाख ७ गते १४:२९     विकासन्युज

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा सामान्य गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनका आधारमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको खुद नाफा २.०५ प्रतिशत घटेर ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा सांग्रिला डेलभपमेन्ट बैंकले गरेको छ । यस बैंकको नाफा ९.४४ प्रतिशत बढेर २६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, कामना सेवा विकास बैंकले ८.४० प्रतिशत बढेर ३३ करोड १३ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकले ८.१२ प्रतिशत बढेर ८७ करोड १८ लाख रुपैयाँ र गरिमा विकास बैंकले ४.८४ प्रतिशत बढेर ६८ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

चैत मसान्तसम्म गत वर्षको तुलनामा विभिन्न ४ वटा राष्ट्रियस्तरका विकास बैंकको खुद नाफा घटेको छ । महालक्ष्मी विकास बैंकको १.४२ प्रतिशत घटेर ३७ करोड ३५ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेलभपमेन्ट बैंकको ७.१८ प्रतिशत घटेर ५१ करोड ४६ लाख रुपैयाँ, ज्योति विकास बैंकको २६.३९ प्रतिशत घटेर १५ करोड २४ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको २६.९१ प्रतिशत घटेर ३४ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

यी विकास बैंकहरूको खराब कर्जा औसत ९.४४ प्रतिशत बढेका कारण नाफामा असर परेको तथ्याङ्कले देखाएको छ । चैतसम्मको तथ्याङ्क अनुसार ०.३१ प्रतिशत बिन्दु बढेर ३.५८ प्रतिशत बिन्दु पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा ३.२७ प्रतिशत बिन्दु खराब कर्जा थियो ।

समीक्षा अवधिमा महालक्ष्मी विकास बैंक र लुम्बिनी विकास बैंकले खराब कर्जा घटाएका छन् भने अन्य सबै बैंकको बढेको देखिन्छ । महालक्ष्मीको ९.९५ प्रतिशत घटेर ४.१६ प्रतिशत बिन्दु र लुम्बिनीको १.८६ प्रतिशत घटेर ३.६९ प्रतिशत एनपीएल कायम भएको छ ।

चैत मसान्तसम्म शाइन रेसुङ्गाको ६१.६१ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु, ज्योतिको २७.७६ प्रतिशत बढेर ४.९७ प्रतिशत बिन्दु, कामना सेवाको ८.८५ प्रतिशत बढेर ३.५५ प्रतिशत बिन्दु, सांग्रिलाको ८.१६ प्रतिशत बढेर ३.८४ प्रतिशत बिन्दु, मुक्तिनाथको १.५ प्रतिशत बढेर २.०२ प्रतिशत बिन्दु र गरिमाको ०.६७ प्रतिशत बढेर २.९७ प्रतिशत बिन्दु पुगेो छ ।

ब्याज आम्दानी साढे १४ अर्ब

समीक्षा अवधिमा ८ वटा विकास बैंकको खुद ब्याज आम्दानी साढे १४ अर्ब रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म १.५३ प्रतिशत बढेर १४ अर्ब ६५ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा १४ अर्ब ४३ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

समीक्षा अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा शाइन रेसुङ्गा बैंक रहेको छ । यस बैंकले ५.६५ प्रतिशत बढाएर १ अर्ब ६३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै, ज्योतिको १.७४ प्रतिशत बढेर १ अर्ब ७० करोड रुपैयाँ, सांग्रिलाको ३.४९ प्रतिशत बढेर १ अर्ब ४४ करोड रुपैयाँ, मुक्तिनाथको ३.३४ प्रतिशत बढेर ३ अर्ब १३ करोड रुपैयाँ र गरिमाको ५.५४ प्रतिशत बढेर २ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका हुन् ।

विभिन्न तीन वटा विकास बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । जसमध्ये महालक्ष्मीको ०.४९ प्रतिशत घटेर १ अर्ब ४८ करोड रुपैयाँ, कामना सेवाको ४.६८ प्रतिशत घटेर १ अर्ब ४५ करोड रुपैयाँ र लुम्बिनीको ७.१४ प्रतिशत घटेर १ अर्ब २८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका हुन् ।

वितरणयोग्य नाफा ध्वस्त

समीक्षा अवधिमा विकास बैंकहरूको वितरणयोग्य नाफामा गिरावट आएको छ । चैत मसान्तसम्म ८ वटा विकास बैंकको वितरणयोग्य नाफा ३९ करोड २२ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा १ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक थियो ।

चैतसमम्म कामना सेवाको वितरणयोग्य नाफा १५७.५४ प्रतिशत बढेर २८ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस्तै, शाइन रेसुङ्गाको २४.५५ प्रतिशत घटेर १४ करोड ८८ लाख रुपैयाँ, गरिमाको ४५.५६ प्रतिशत घटेर १० करोड २१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।

गत वर्ष वितरणयोग्य नाफा ऋणात्मक रहेका मुक्तिनाथको यस वर्ष भने १ करोड २८ लाख रुपैयाँ, महालक्ष्मीको ९ करोड ८८ लाख रुपैयाँ र लुम्बिनीको ९ करोड १६ लाख रुपैयाँ धनात्मक छ । तर, ज्योति बैंक र सांग्रिला बैंकको भने ऋणात्मक नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.