पुनर्बीमा कम्पनीको प्रगतिप्रति नियामक असन्तुष्ट, विदेशी साझेदार वा विज्ञ भित्र्याउन सुझाव

  २०७७ चैत २९ गते १०:५३     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले नेपालको एकमात्र पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको प्रगतिप्रति असन्तुष्टि जनाएको छ ।

नेपालमा एक मात्र पुनर्बीमा कम्पनी भएर एकाधिकारी बजार पाउँदा र सरकारले नै निश्चित व्यवसाय ग्यारेन्टी गरेको अवस्थामा पनि कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न नसकेको भन्दै समितिले असन्तुष्टि जनाएको हो ।

कम्पनीले विदेशी पुनर्बीमा कम्पनीबाट अपेक्षाकृत व्यवसाय ल्याउन नसकेको र विदेशमा विश्वास आर्जन गरी व्यवसाय विस्तार गर्न नसके समितिका एक अधिकारीले बताए । सरकारले पुनर्बीमा कम्पनीको व्यवसाय विस्तारका लागि नीतिगत रुपमै ग्यारेन्टी गरेको भएपनि कम्पनीले अन्तराष्ट्रिय बजार खोज्न नसकेको उनको भनाइ छ ।

‘नेपाल पुनर्बीमा कम्पनीमा बहुसंख्यक सेयर सरकारको छ, सरकारले नै नेपाली बीमा कम्पनीहरुले ल्याएको सुरु व्यवसायको २० प्रतिशत आम्दानी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने भन्ने नीतिगत व्यवस्था गरेको छ, तर यसरी संरक्षण गर्दा पनि कम्पनीले राम्रो प्रगति गर्न सकेन, हाम्रो चिन्ता यही हो,’ ती अधिकारीले भने ।

कम्पनीको व्यवसायिक अवस्था सुधार्न गर्नको लागि आफूले सक्दो सहयोग गर्ने बचन समितिले दिएको छ । यसका लागि विशेष गरेर दुई विकल्पमा गृहकार्य गर्न समितिले कम्पनीलाई सुझाव दिएको छ ।

‘यही तालमा अघि बढ्ने हो भने नेपाल पुनर्बीमा कम्पनीले प्रगति गर्न नसक्ने करिब पक्का छ, विश्व बजारमा आफ्नो उपस्थिति देखाउनको लागि सिंगापुर कार्यक्षेत्रमा रहेका विदेशी पुनर्बीमा कम्पनीलाई साझेदारको रुपमा भित्र्याउन सके सबैभन्दा राम्रो हुन्छ, तत्काल त्यसो गर्न नसक्ने हो भने पनि नेपाली बजारबाट वा अन्तराष्ट्रिय बजारबाट भएपनि उच्च व्यवस्थापनमा प्रभावशाली व्यक्तित्व भित्र्याउनु आवश्यक देखिएको छ,’ समितिका ती अधिकारीले थपे ।

कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । यसको ४४ प्रतिशत सेयर लगानी नेपाल सरकारको छ । १६ प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको छ । बाँकी सेयर स्वामित्व बीमा कम्पनी र अन्य कम्पनी तथा व्यवसायिक समुहको छ ।

सरकारको बहुमत सेयर भएको कारण पनि सो कम्पनीले उल्लेख्य प्रगति गर्न नसकेको आकलन गर्न थालिएको छ । कम्पनीको संचालक समिति अध्यक्ष तथा व्यवस्थापनको प्रमुख (सिइओ) नेपाल सरकारले नियुक्त गर्ने गरेको छ । सरकारको हस्तक्षेपका कारण योग्य र व्यवसायिक व्यक्ति कम्पनीमा आउन समस्या भएको र राजनीतिक नियुक्तिका आधारमा आउने व्यक्तिले व्यवसायिक योजना प्रभावकारी रुपमा तर्जुमा गरी कार्यान्वयन गर्न गराउन नसकेको अनुभत गरिएको छ ।

‘तत्काल विदेशी साझेदार ल्याउन सकिदैन भने उच्च व्यवस्थापनमा ३ जनासम्म दक्ष जनशक्ति आन्तरिक (नेपाली) वा वाह्य (विदेशी) बजारबाट लिएर अघि बढ्नुस् भन्ने हाम्रो सुझाव हो, हामीले यति सहयोग गर्न खोज्दा पनि कम्पनी प्रभावकारी योजना सहित आउदैन भने चिन्ता गर्नु वाहेक अन्य विकल्प हामीसँग पनि हुन्न,’ समितिका ती अधिकारीले भने ।

कम्पनीका गत पुस मसान्तसम्मका केही सुचक

चुक्ता पुँजीः १० अर्ब

जगेडा तथा कोषः निर्जीवन व्यवसायमा २ अर्ब ८७ करोड, जीवन व्यवसायमा ६१ करोड ९१ लाख

बीमा कोषः निर्जीवन व्यवसायमा २ अर्ब ३ करोड

दीर्घकालिन लगानी तथा कर्जाः निर्जीवन व्यवसायमा १३ अर्ब १३ करोड, जीवन व्यवसायमा ९ करोड ५२ लाख

अल्पकालिन लगानी तथा कर्जाः निर्जीवन व्यवसायमा ३ अर्ब ६२ करोड, जीवन व्यवसायमा ३७ करोड २१ लाख

खुद नाफाः निर्जीवन व्यवसायमा ४५ करोड ४३ लाख, जीवन व्यवसायमा ८ करोड २६ लाख

बीमा शुल्कः निर्जीवन व्यवसायमा ३ अर्ब ४० करोड, जीवन व्यवसायमा ३९ करोड ४६ लाख

पुनर्बीमा कमिसन आयः १ करोड ६३ लाख

पुनर्बीमा कमिसन खर्चः ९९ करोड ८ लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.