उद्योगपतिलाई मृत्युपछि सरकारको फोन, भन्यो-‘बाँकी कर तिर्न आउनू’

  २०८१ वैशाख ४ गते १५:३०     विकासन्युज

स्वः दिवाकर गोल्छा

काठमाडौं । उद्योग दिवसका दिन चैत २८ गते अर्थमन्त्री वर्षमान पुन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सभालाई सम्बोधन गर्दै थिए । अर्थमन्त्रालयले कर अधिकृतहरूलाई अत्याधिक कर असुली गर्न टार्गेट दिएपछि कर अधिकृतहरूले पनि करदातालाई अनावश्यक दुःख दिएको उनले बताए ।

‘बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ३३ प्रतिशतले राजस्व वृद्धि भएको थियो, अहिलेसम्मको सबैभन्दा उच्चदरको वृद्धि त्यही हो, पहिला म अर्थमन्त्री हुँदा २४ प्रतिशत राजस्व वृद्धि भएको थियो, राजस्व वृद्धिदर उच्चतम दोस्रो रेकर्ड पनि त्यही हो, यस पटकको बजेटमा ४१ प्रतिशत राजस्व वृद्धिको लक्ष्य राखिएको रहेछ, त्यो असम्भव लक्ष्य हो,’ उनले भने, ‘राजस्व वृद्धिमा असम्भव लक्ष्य राख्ने, कर कार्यालयहरूलाई अत्यधिक वृद्धिको टार्गेट दिने, कर अधिकृतहरूले पनि माथिको दबाब खेप्नुपर्ने समस्या छ, टार्गेट पूरा गर्न कर अधिकृतले करदातालाई अनावश्यक दुःख दिएको, करदाताले अनावश्यक झमेला सहनु परेको गुनासो आएका छन् ।’

अर्थमन्त्री पुनले कर अधिकृतहरूले करदातालाई दुःख दिने गरेको स्वीकारोक्ति सार्वजनिक रूपमा अभिव्यक्त गरेको साता नबित्दै आन्तरिक राजस्व विभागले पाँच वर्षअघि निधन भएका उद्योगपति दिवाकर गोल्छालाई कर तिर्न ताकेता गरेको छ । गोल्छाको  २०७५ चैत २६ गते निधन भएको थियो ।

उनी २०६४ मा गठन भएकाे संविधान सभामा कांग्रेसबाट समानुपातिक सभासद थिए ।  गाेल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत थिए ।

बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालयले मृतक गोल्छालाई पटक-पटक फोन सम्पर्क गरेको, एसएमएस गरेको, इमेल गरेको, पत्राचार गरी जानकारी गराएको तर बाँकी कर भुक्तानी नगरेको जनाएको छ । कार्यालयले एक सूचना सार्वजनिक गर्दै गोल्छालाई कर तिर्न आग्रह गरेको र कर नतिरे कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

श्रीराम सुगर मिल्सले बुझाउन बाँकी कर तिर्न कर कार्यालयले मृत्यु पर्यन्त गोल्छालाई ताकेता गरेको हो । गोल्छाको निधन भएको २ वर्षपछि उक्त कम्पनी पनि बन्द भएको छ ।

२०७५ चैत २६ गते गोल्छाको निधन भएको थियो । २०७७ साउन १२ गतेदेखि श्रीराम सुगर मिल्स पूणर्रूपमा बन्द भएको छ । गोल्छा अर्गनाइजेसनले २०४९ साल साउन १३ मा श्रीराम सुगर मिल्स सञ्चालनमा ल्याएको थियो । सवा २ अर्ब रुपैयाँ सञ्चित नोक्सान भएको भन्दै गोल्छा अर्गनाइजेसनले उद्योग बन्द गरेको थियो ।

मिल्सका मुख्य सञ्चालक दिवाकर गोल्छाको निधन भएपछि उनका छोराले अर्को व्यावसायिक घराना विशाल ग्रुपलाई मिल्सको नयाँ साझेदार बनाएका थिए । त्यो साझेदारीबाट पनि काम हुन नसकेपछि गोल्छा अर्गनाइजेसन र विशाल ग्रुपले मिल्स लिलाम गरेको थियो ।

२०८० साउन पहिलो साता मिल्सको मेसिनरी उपकरण साढे ४३ करोड रुपैयाँमा शिवशक्ति ग्रुपले किनेको थियो । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले श्रीराम सुगर मिल्सको स्थलगत निरीक्षणपछि उक्त मिल्स पुनः सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।

आन्तरिक राजस्व विभागले अन्य करिब डेढ दर्जन निजी कम्पनीलाई पनि कर बक्यौता चुक्ता गर्न सार्वजनिक सूचना जारी गरको छ । विभाग अन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले मंगलबार सूचना जारी गरी ती कम्पनीलाई कर बक्यौता चुक्ता गर्न भनेको हो ।

कार्यालयले चार सहकारीसहित १५ कम्पनीलाई बक्यौता कर चुक्ता गर्न १५ दिनको म्याद दिँदै सूचना जारी गरेको छ । बक्यौता कर तिर्न कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था र क्यापिटल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ गरी ४ वटा सहकारी छन् ।

यस्तै, करदाता कार्यालयका अनुसार कान्तिपुर कोअपरेटिभको आयकर, लालीगुराँसको आयकर/मूल्य अभिवृद्धि कर (भ्याट), शिखरदीपको आयकर/भ्याट र क्यापिटलको लामो अवधिदेखिको भ्याट बक्यौता छ ।

त्यसैगरी, डिभाइन स्ट्रिम नेटवर्क प्रालिको भ्याट, आयोकी फ्रेब्रिकोन नेपाल प्रालि, मोतीदान कन्स्ट्रक्सन सेवा प्रालि, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर, लोकेन्द्र इन्टरप्राइजेज, अरनिको सिमेन्ट इन्डस्ट्रिज प्रालि, श्री खानीखोला इन्टरप्राइजेज, त्रिपुरेधर कन्डक्टर उद्योग प्रालि र बराह डिपार्टमेन्ट स्टोरलाई आयकर/भ्याट बुझाउन ताकेता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.