उत्पादनशील क्षेत्रमा लगानी नगर्ने बीमा कम्पनीलाई कारबाही गर्दै समिति

  २०७७ फागुन ११ गते १७:१७     मञ्जरी पौडेल

काठमाडौं । बीमा व्यवसाय सञ्चालन गरिरहेका अधिकांश बीमा कम्पनीले उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न चासो देखाएका छैनन् ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिबाट इजाजत प्राप्त गरेका कूल ४० कम्पनीमध्ये ३२ वटा बीमा कम्पनी कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न इच्छुक नरहेको पाइएको छ । लगानी गरेका कम्पनीले पनि आफूले लगानी गर्नुपर्नेभन्दा कम रकम मात्रै लगानी गरेका पाइएको छ ।

बीमकको लगानी निर्देशिका, २०७५ अनुसार समितिबाट इजाजत प्राप्त बीमकले कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सीमा तोकिएको छ ।

सो निर्देशिका अनुसार हालसम्म १७ वटा जीवन बीमा, १४ वटा निर्जीवन बीमा र एक पूनर्बीमा कम्पनी गरी कूल ३२ कम्पनीले तोकिए अनुसार लगानी नगरेको पाइएको छ ।

यससँगै निर्देशिका बमोजिम उक्त क्षेत्रमा लगानी नगरेको भन्दै समितिले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनी गरी कुल ३२ वटै कम्पनीलाई पत्राचार गरेको छ ।

‘निर्देशिकामा तोकिएअनुसार अधिकांश कम्पनीले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी नगरेको पाइयो । त्यसैले हामीले लगानी गर्नको लागि पत्राचार गरेका छौं’ समितिका प्रवक्ता राजुरमण पौडेलले भने ।

कुन कुनले गरेका छैनन् ?

बीमा समितिका अनुसार जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट लाइफ, एशियन लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, आईएमई लाइफ, यूनियन लाइफ, ज्योती लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले हालसम्म लगानी गरेका छैनन् ।

त्यस्तै, निर्जीवन बीमातर्फका दि ओरिएण्टल, राष्ट्रिय बीमा कम्पनी, नेशनल, हिमालयन जनरल, यूनाईटेड, प्रिमियर, एभरेष्ट, आईएमई जनरल, प्रुडेन्सियल, लुम्बिनी जनरल, सिद्धार्थ, सानिमा जनरल, जनरल र अजोड इन्स्योरेन्सले उक्त क्षेत्रमा लगानी गरेका छैनन् ।

त्यसैगरी, पूर्वाधार क्षेत्रमा समितिले तोकेअनुसार लगानी नगर्नेमा पुनर्बीमा तर्फको नेपाल पुनर्बीमा कम्पनी पनि रहेको छ ।

यी कम्पनीले समितिको निर्देशिका बमोजिम उक्त उत्पादनशील तथा पूर्वाधार क्षेत्रमा लगानी नगरेमा अन्य क्षेत्रमा पनि लगानी गर्न नपाउने सम्भावना बढ्ने छ ।

‘अहिले लगानी गर्नको लागि पत्र पठाएका हौं । यसपछि पनि उक्त क्षेत्रमा लगानी नगरेमा त्यस्ता कम्पनीलाई अन्य सबै क्षेत्रमा लगानी गर्न रोक लगाउने विचारमा बीमा समिति रहेको छ’, प्रवक्ता पौडेलले विकासन्युजसँग भने ।

बीमकको लगानीको निर्देशिका अनुसार बीमा कम्पनीले लगानीको लागि आव्हान गरिएको कूल रकमको १० प्रतिशतभन्दा बढी रकम लगानी एउटै परियोजनामा गर्न पाउने छैनन् । साथै, उनीहरुले लगानी गर्ने कम्पनी पब्लिक अर्थात सरकारी कम्पनी हुनुपर्ने व्यवस्था रहेको छ ।

कुनै बीमा कम्पनीले निर्देशिकामा रहेको सीमाभन्दा बढी भएको लगानीको लागि समितिको स्वीकृति लिनुपर्ने छ ।

हालसम्म कुन कम्पनीले कति गरे लगानी ?

बीमा समितिका अनुसार हालसम्म ८ वटा कम्पनीले मात्रै कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरेका छन् । लगानी गर्नेमध्ये २ जीवन बीमा कम्पनी र ६ निजीर्वन बीमा कम्पनी रहेका छन् ।

यससँगै जीवन बीमा कम्पनी मार्फत २ अर्ब एक करोड ८५ लाख ८० हजार रुपैयाँ र निर्जीवन बीमा कम्पनी मार्फत १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ गरी कूल २ अर्ब १५ करोड ३० लाख७६ हजार रुपैयाँ उत्पादनशील क्षेत्रमा लगानी गरेका छन् ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्मको तथ्यांक अनुसार जीवन बीमामध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सले मात्रै उक्त क्षेत्रमा लगानी गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब ८६ करोड १६ लाख ४० हजार रुपैयाँ र प्राइम लाइफ इन्स्योरेन्सले १५ करोड ६९ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, निर्जीवन बीमा तर्फबाट नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र एनएनलजी इन्स्योरेन्सले कुल १३ करोड ४४ लाख ९६ हजार रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमध्ये नेपाल इन्स्योरेन्सले २ हजार, नेकोले २ करोड ३८ लाख ११ हजार, सगरमाथाले ८९ लाख ४७ हजार, प्रभुले ४ करोड ६६ लाख ९१ हजार, शिखरले ३ करोड ७८ लाख ४७ हजार र एनएलजीले एक करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.