सेयर बजारमा सुन्निएको पुनर्बीमा कम्पनीलाई राष्ट्र बैंकको ‘रेडकार्ड’

  २०७७ पुष १ गते १८:४४     विकासन्युज

काठमाडौं । पछिल्ला केही सातायता अस्वभाविक रुपमा बढेको नेपाल पुनर्बीमा कम्पनीको सेयरधनीलाई राष्ट्र बैंकले ‘रेडकार्ड’ देखाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत गरेको संकेत अनुसार सेयरधितो कर्जामा केही परिवर्तन गरेको छ । मौद्रिक नीतिको समीक्षामा सेयरधितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने भनिएको थियो ।

राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा सेयरधितो कर्जा सम्बन्धमा विशेष गरेर ४ प्रकारका नयाँ व्यवस्था गरिएको छ । यी ४ नयाँ व्यवस्थामध्ये एउटा व्यवस्थाले पुनर्बीमा कम्पनीको सेयरधितोमा कर्जा नपाइने अवस्था सिर्जना भएको छ ।

नयाँ व्यवस्थामा बैंकले पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु, व्यवसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु, विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरुको सेयर धितोमा पनि कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरेको छ ।

पछिल्ला दिनमा अस्वभाविक रुपमा मूल्य बढेर सुन्निएको आरोप लागेको पुनर्बीमा कम्पनीको सेयर हुनेले नयाँ व्यवस्थाका कारण अब बैंक वित्तीय संस्थामा धितो राखेर सेयरधितो कर्जा लिन पाउने छैनन् । किनभने पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको २५० दिन पुगेको छैन ।

यसअघि राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु, नेटवर्थ ऋणात्मक भएका संस्थाहरु, नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीकरणबाट हटाइएका संस्थाहरु र आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पुरा हुँदा समेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरुको सेयरको धितोमा कर्जा नदिने व्यवस्था रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.