८ महिनादेखि चीनको नाकाबन्दी, सरकारमा बस्नेहरुले देखाएनन् चासो

  २०७७ असोज ४ गते १२:०४     विकासन्युज

काठमाडौं । चीनले ८ महिनादेखि नाकाबन्दी गरेर स्थलमार्ग ठप्प पारेपनि नेपाली अधिकारीहरुले चासो देखाएका छैनन् । चीनले गत माघदेखि नेपालसँगका करिब सबै स्थल नाका बन्द गरेर नेपालसँगको व्यापार रोकेको हो ।

चीनसँग व्यापार हुने प्रमुख नाका तातोपानी २०७२ को भूकम्पदेखि नै बन्द थियो । गत बैशाखमा केही दिनको लागि नाका खोलिए पनि कुनै एउटा ‘ताल फुटेर बाढी आउन सक्ने’ भन्दै तातोपानी नाका पुनः बन्द भएको छ ।

तातोपानी नाका बन्द भएपछि चीनसँगको स्थल व्यापारको केन्द्र बनेको रसुवागढी भन्सार नाका गत माघ १५ गतेदेखि बन्द छ । चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएपछि बन्द गरिएको सो नाका बीचमा केही दिन खुलेपनि पुनः ठप्प छ ।

चीनले गत माघ १५ गतेदेखि बन्द गराएको रसुवागढी नाका गत असारमा १२ दिन जति खुलेको थियो । नाका खुलेको समयमा पहिरोको कारण सडक अवरुद्ध भएपछि बन्द भएको नाका पछि कोरोनाको कारण देखाउँदै बन्द गरिएको हो ।

रसुवागढी नाकामा काम गर्ने एक जना मजदुरलाई पीसीआर परीक्षण गराएर काममा लगाउने र उनीहरुलाई क्वारेन्टिनमा राख्ने सहमती चिनियाँ पक्षसँग भएको थियो । पहिरोको कारण अवरुद्ध भएको सडक बनाइसकेपछि पुनः पीसीआर गराउँदा एक जना मजदुरमा कोभिड–१९ पुष्टी भएपछि चिनियाँ पक्षले नाका बन्द गरेको हो ।

‘पहिला चीनको वुहानमा कोभिड–१९ देखिएपछि रसुवागढी नाका बन्द भएको थियो, नाकामा काम गर्ने मजदुर लगायतको पीसीआर परीक्षण गर्नेर क्वारेन्टिनमा राख्ने सहमति चिनियाँ पक्षसँग भएको थियो, गत असारमा पहिरोको कारण बन्द भएको सडक बनाएर नाका सुचारु गर्ने प्रयोजनको लागि पीसीआर गराउँदा एक जना मजदुरमा कोभिड–१९ पोजेटिभ देखिएछ, त्यसपछि पुन नाका बन्द भएको छ,’ भन्सार विभागका सुचना अधिकारी शिशिर घिमिरेले विकासन्युजसँग भने ।

रसुवागढी नाका खुलाउनको लागि पहल भइरहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुन्यविक्रम खड्काले बताए । यद्यपि, कहिलेदेखि नाका खुल्छ भन्ने विषयमा भने उनले केही बताएनन् ।

‘कोभिडका कारण नाका बन्द भएको छ, खुलाउनको लागि पहल भइरहेको छ, चिनियाँ समकक्षीसँग हामी निरन्तर छलफल गरिरहेका छौं,’ रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खड्काले भने ।

भन्सार विभागकै अधिकारीहरु कोभिडकै कारण रसुवागढी नाका बन्द भएको मान्न तयार छैनन् । चिनियाँ पक्षले सामान ल्याएर नेपालतिर झारिदिन समस्या नभए पनि अमुर्त कारण देखाएर द्विपक्षीय व्यापार नै ठप्प पारिएको विभागका एक अधिकारीले बताए ।

‘देखाउनको लागि कारण त जतिपनि फेला पर्न सक्छन्, तर जुन कारण देखाइएको छ ,त्यो खास समस्या हो कि होइन भन्ने कुरा प्रमुख हुन्छ, चिनियाँ कन्टेनरले ल्याएर सामान झारेर फर्कदा कोरोना संक्रमणको जोखिम कसरी हुन्छ, नेपाली पक्षसँग कुनै भेटघाट वा सम्पर्कै नगरी हुने काममा पनि कोभिड देखाएर अवरोध सिर्जना गरिएकोले यो समस्या हाम्रो तहबाट समाधान हुने रहेनछ भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ ती अधिकारीले भने ।

नेपालमा उपभोग्य सामानहरु विशेष गरेर लत्ता कपडाहरु ठूलो परिमाणमा स्थल मार्ग भएर आउने गरेका छन् । तातोपानी नाका बन्द नहुन्जेल तातोपानी नाकाबाट र त्यसपछि रसुवागढी नाकाबाट आउने गरेका थिए । तर, चीनले कोरोनालाई कारण देखाएर ८ महिनादेखि नाका बन्द गरे पनि खुलाउनको लागि प्रधानमन्त्री वा मन्त्रीस्तरबाट कुनै पहल भएको छैन ।

दशैं र जाडोका लत्ता कपडा रसुवागढी नाकामा थन्किएको लामो समय भएका कारण बजारमा यस्ता सामानको अभाव देखिएको व्यापारीहरु बताउँछन् । लकडाउन, सटडाउन र निषेधाज्ञा गरी ६ महिना बन्द भएका सडक खुलाउन पाइने अवस्था आएपनि सामानको अभावमा पुन पसल बन्द गर्नुपर्ने अवस्था आएको न्यूरोड तथा भोटाहिटी क्षेत्रका व्यापारीहरु बताउँछन् ।

भारतलाई ‘सबक सिकाउने’ रसुवागढी नाका

संविधानसभाले २०७२ साल असोजमा नयाँ संविधान बनाएपछि मधेश केन्द्रित केही राजनीतिक दलले असहमति जनाए । नयाँ संविधानमा आदिवासी जनजाति तथा मधेशी समुदायलाई अधिकारबाट बन्चित गराइएको भन्दै आन्दोलित भएका मधेश केन्द्रित राजनीतिक दलको आन्दोलनलाई कारण देखाउँदै भारतले २०७२ सालको असोजदेखि माघसम्म नेपालमाथि अघोषित नाकाबन्दी गरेको थियो ।

भारतको यस्तो नाकाबन्दीको समयमा नेपालमा पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक बस्तुको हाहाकार भएको थियो । सो समयमा पनि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गरेका थिए ।

भारतसँग नझुक्ने भन्दै तत्कालिन प्रधानमन्त्री ओलीको पहलमा रसुवागढी नाकाबाट केही ट्यांकर पेट्रोलियम पदार्थ पनि नेपाल ल्याइएको थियो । चीनले नेपाललाई सहयोग गर्न थालेपछि भारत हच्किएर अघोषित नाकाबन्दी हटाउन वाध्य भएको सो बेला चर्चा चलाइएको थियो ।

तर, भारतलाई ‘सबक सिकाउने’ रसुवागढी नाका ८ महिनादेखि बन्द हुँदा खोल्नको लागि प्रधानमन्त्री ओली वा सरकारका कुनै पनि मन्त्रीले चासो देखाएका छैनन् । चिनियाँ पक्षले पनि किन नाकाबन्दी गरियो भनेर केही बताएको छैन ।

यद्यपि, सत्तारुढ नेकपा र चिनियाँ सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पाटीबीच भाइचारा सम्बन्ध छ । गत असारमा सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा चिनिया राजदुतको सक्रियतामा नेकपाभित्रको विवाद साम्य बनाउन समन्वयकारी भूमिका निर्वाह भएको चर्चा सो बेला पनि चलेको थियो ।

यस्तै, केही समय अघि मात्रै चिनियाँ सत्तारुढ दल चिनिया कम्युनिष्ट पार्टीले नेपालको सत्तारुढ दल नेकपालाई औचारिक रुपमा प्रशिक्षण दिएको थियो । सत्तारुढ दलबीच राम्रो सम्बन्ध जस्तो देखिए पनि नेपाल–चीन व्यापार ८ महिनादेखि बन्द हुँदा दुबै देशले गम्भीरता नदेखाउनु भने शंकास्पद विषय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.