कृषक खोज्दै कृषि एम्बुलेन्स गाउँगाउँमा

  २०७७ वैशाख २९ गते १०:४४     विकासन्युज

प्युठान । कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन् । बन्दाबन्दीका कारण गाउँमा उत्पादित कृषि उपज बजारसम्म नपुग्ने र बजारमा भएका कृषि सामग्री कृषकसम्म नपुगेका अवस्थामा कृषि एम्बुलेन्स सञ्चालनले कृषकलाई सहज भएको छ । कृषकले उत्पादन गरेका उपज र उपज उत्पादनका लागि चाहिने बीउ र मल वितरणका लागि कृषि एम्बुलेन्स प्रयोग भएका छन् ।

लामो समयको बन्दाबन्दीमा कृषकले उत्पादन गरेका तरकारी, अण्डा, रासायनिक मल, बीउ पुर्याउनेलगायत कार्य एम्बुलेन्समार्फत भएपछि कृषकलाई सहज भएको छ । कृषि बीउ जिल्ला बाहिरका चिस्यान घरमा राख्ने, मकै र धान रोप्ने समयमा बीउ उपलब्ध गराउने, उत्पादित तरकारी संकलन गरी मुख्य बजारदेखि उपभोक्तासम्म पुर्याउने गर्दा कृषक तथा उपभोक्तालाई राहत मिलेको हो ।

नौबहिनी गाउँपालिकामा करीब चार सय कृषकले चैतमा लगाएको मकैबाली असिनापानीले नष्ट भएपछि जिल्ला तथा जिल्ला बाहिरबाट कृषि एम्बुलेन्समार्फत गाउँगाउँमा बीउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष विकले जानकारी दिए । गाउँपालिकाको सहयोगमा कृषि एम्बुलेन्सबाट मकैको बीउ पाउँदा राहत भएको नौबहिनी–२ लिघाका नन्दराम बुढा मगरले बताए । “राम्रोसंँग गहुँ भित्र्याउन नपाए पनि मकै राम्रो हुन्छ भन्ने आशा थियो”, मगरले भने, “पटकपटक परेको असिनापानीले थिचेर नष्ट गरेपछि मकै पुनः छर्नुपर्ने भएको छ ।” प्रदेश सरकारले सञ्चालन गरेको कृषि एम्बुलेन्स कृषक खोज्दै गाउँगाउँ आउँदा खुशी लागेको जानकारी दिए ।

मल्लरानी गाउँपालिका–५ कुमीकोटमा रहेको हिमा लेयर्स फार्ममा चार सय ५० लेयर्स कुखुरा छन् । करीब चार सय अण्डा दिने समयमा बन्दाबन्दी भएपछि ११ पेटी अण्डा बिग्र्रियो । दैनिक दश क्यारेट अण्डा उत्पादन गरी गाउँमा बिक्रीवितरण गर्दै आएको लेयर्स फार्मका करीब ३० हजारको अण्डा नष्ट भएको सञ्चालक सूर्यबहादुर दर्लामी बताए । “दाना नपाउँदा अण्डा उत्पादन घटेको छ”, दर्लामीले भने, “कृषि एम्बुलेन्सबाट दाना आउन र अण्डा बिक्री हुन थालेको छ ।” कृषि एम्बुलेन्सले घरमै आएर अण्डा वितरणका लागि लैजाने गरेकाले सहज भएको सञ्चालक दर्लामीको भनाइ छ ।

प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँ कृषि एम्बुलेन्स सञ्चालनका लागि पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय मातहतको भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङलाई जिम्मा दिइएको छ । हरिओम कृषि सहकारी संस्था बाग्दुलाको लु २ च ७५०५, झिमरुक मत्स्यसपालन तथा एकीकृत कृषि फार्म खैराको लु २ च ७३८६ र युग प्रवाह कृषि सहकारी संस्था दाङको लु २ च ७५१३ ले कृषि उपज ओसारपसार तथा खरीदबिक्रीको काम गर्दै आएका छन् ।

यही वैशाख १३ गतेदेखि सञ्चालनमा आएको कृषि एम्बुलेन्समार्फत पोल्टी फर्मले उत्पादन गरेका अण्डा, रासायनिक मल, मकैको बीउ ढुवानी, किमिचौरका किसानलाई मनकामना जातको मकैको बीउ वितरण, बर्जिवाङका किसानले उत्पादन गरेको मकै, कुखुराको दाना, अदुवा तथा बेसारको बीउ वितरण गरिएको छ । बाँदीकोटदेखि लमहीसम्म टिपिएस आलुको बीउ शीतभण्डारका लागि लगिएको र माछा फर्मका लागि प्राङ्गारिक मल वितरण भइरहेको कृषि एम्बुलेन्स सञ्चालन समितिका संयोजक गिरिराज पौडेलले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.