अलैँचीको मूल्य बढेपछि किसान उत्साहित, प्रतिमन ८० हजारमा बिक्री

  २०८० फागुन १३ गते ७:१७     विकासन्युज

फुङलिङ । कोलो सुनले परिचत अलैँचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म अलैँची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार रुपैयाँसम्ममा अलैँची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।

अलैँची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैँची किसानले प्रतिमन ७० हजारदेखि ८० हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिए । ‘सुरुआतमा प्रतिमन ६० हजारदेखि अलैँची बिक्री सुरु भएको थियो । दुई साताअघि ८० हजार रुपैयाँसम्म पनि पुग्यो । अहिले प्रतिमन ७१ हजार रुपैयाँमा अलैँची बिक्री भइरहेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैँची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । ‘पछिल्लो समय भारतमा अलैँची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैँचीको मूल्य बढेको हो,’ उनले भने ।
अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैँची बिक्री गरिसकेका छन् । ‘गत वर्षको तुलनामा यसवर्ष अलैँचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन ७८ हजारदेखि ८० हजार रुपैयाँसम्म अलैँची बिक्री गरेका छन्,’ उनले भने ।
अलैँचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैँची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैँची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैँची खेती हुँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.