बैंकमा काम नगर्ने सीसीटीभी क्यामेरा, संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी कर्मचारी

  २०८१ वैशाख ४ गते १०:२३     विकासन्युज

काठमाडौं । अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र पारदर्शी हुने भएकाले हरेक कारोबार विश्वसनीय हुन्छन् । ग्राहकका हरेक कारोबार चुस्तदूरूस्त हुन्छन् । साथै, ग्राहकहरूको व्यक्तिगत विवरण र कारोबार पनि गोप्य राखिएको हुन्छ । तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक सुपरिवेक्षण प्रतिवेदन २०२२/२३ अनुसार कोर बैंकिङ प्रणाली वा संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी तथा इन्टर्नहरूलाई काम गर्न खटाइएको पाइएको छ ।

वार्षिक रूपमा भएका घटनाहरूको अभिलेख राखेर बैंकहरूले आफ्नो व्यवसायिक योजना बनाउनु पर्ने हुन्छ । तर, यस्ता घटनाको प्रतिवेदन तयार गर्ने, आवधिक विश्लेषण गर्ने र व्यवस्थापकीय बैठकमा छलफल गरी उपयुक्त नीति निर्माणको अभाव देखिएको राष्ट्र बैंकको भनाइ छ । केही बैंकहरूले प्रमुख जोखिम सूचकहरूको पहिचान र जोखिम दर्ताका कागजातहरूका लागि उपयुक्त प्रणाली समेत विकास नगरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरूको व्यवस्थापन टिमसँग ऋणका समस्या, ऋण प्रतिबद्धता र आकस्मिक दायित्व, माइग्रेसन लगायत प्रतिवेदन समेत उपलब्ध छैनन् । बैंकको कर्जा नोक्सान प्रावधान प्रणालीमा निष्क्रिय कर्जा (व्यवसाय सञ्चालन नभएको, कोषको दुरुपयोग, कालोसूचीमा राख्ने) गुणात्मक र अन्य मापदण्डहरू क्याप्चर गर्ने पर्याप्त प्रणाली छैन । बैंक खाता खोल्दा फारमहरू पूर्ण रूपमा भरिएका छैनन् भने पीईपी प्रमाणीकरण, स्वघोषणाका फारमहरू फारमहरू हराइरहेका छन् ।

साथै, लेखापरीक्षकले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन नगरेको, वितरण नगरिएका चेक र डेबिट कार्डहरू समयमै नष्ट नगरेको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ । गलत क्रियाकलाप, शंकास्पद कारोबार लगायतका क्रियाकलाप न्यूनीकरण गर्न भिडियो निगरानी प्रयाप्त नभएको राष्ट्र बैंकले जनाएको छ । सीसीटीभी क्यामेरामा ९० दिनभन्दा कम ब्याकअप, ब्लर भिजिबिलिटीका कारण प्याकेट र बन्डलहरू पहिचान गर्न नसकिने, क्यामेरा बिग्रिएको, एन्टिलाइट लोकेशन जस्ता समस्याहरू छन् ।

कर्मचारी बढुवा नीति प्रभावकारी कार्यान्वयन नभएको, धेरै बैंकहरूको कर्मचारी कार्यसम्पादन मूल्याङ्कन बैंकको मानव संसाधन विनियमले निर्देशित गरेबमोजिम समयमै सञ्चालन नभएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, धेरै बैंकमा थोरै निक्षेपकर्ताहरूको ठूलो रकम निक्षेप रहेको छ । यी निक्षेपकर्ताहरूबाट अचानक रकम निकासी हुँदा बैंकहरूमा चरम तरलता तनाव निम्त्याउन सक्ने राष्ट्र बैंकको भनाइ छ । साथै, राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आकस्मिक कोष योजना तयार नहुँदा तरलता अभाव हुने गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार कतिपय बैंकले व्यवसाय निरन्तरता गर्ने योजना समेत बनाएका छैनन् । साथै योजना बनाएका बैंकले व्यवसाय निरन्तरता गर्न डिल गर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.