सातामै ६ हजारले बढ्यो सुनको मूल्य, छैन बिक्री

  २०८० फागुन २७ गते ७:१७     विकासन्युज

काठमाडौं । एक साताको अवधिमा सुनको मूल्यमा उच्च रेकर्ड कायम भएको छ । बजारमा एक साता अवधिमा सुनको मूल्य प्रतितोलामा ६ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य यस साताको शुक्रबार बढेर तोलामा १ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको विश्लेषकहरूको अनुमान छ ।  सातको पहिलो दिन आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएकोमा सोमबार सोही मूल्य कायम रह्याे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पुनः बढेर एक लाख २३ हजार रुपैयाँमा काराेबार भयाे । बुधबार १ लाख २३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको मूल्य बिहीबार एकै दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर १ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

फागुन लागेसँगै बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । फागुन ३ गते तोलाको १ लाख १६ हजार पाँच सय रुपैयाँ रहेको सुनको मूल्य त्यसपछि क्रमिक रूपमा बढ्दै शुक्रबारसम्म बढेर १ लाख २५ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले आगामी दिनमा समेत थप बढ्ने देखिएको महासंघले जनाएकाे छ ।  सिजनमा ४० देखि ५० किलो सुन खपत हुने गरेकोमा अहिले दैनिक १५ देखि २० किलोमात्रै खपत भइरहेकाे महासंघकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.