राष्ट्रिय बीमा कम्पनीले एकै झट्कामा गुमायो २८ करोडको व्यापार, अध्यक्ष भन्छन्ः फेरि आउँछ

  २०७६ माघ २ गते १८:१८     नबिन पोखरेल

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २८ करोडको व्यापार गुमाएको छ । पूर्व राजस्व सचिव लालशंकर घिमिरेको पहलमा भएको कर्मचारी संचय कोष र कम्पनीबीचको सम्झौता तोडिदा कम्पनीको व्यापार गुमेको हो ।

कम्पनी र कोषबीच करिब १ वर्ष अगाडि कोषका संचयकर्ताको स्वास्थ बीमा कम्पनीले गर्ने भन्ने सम्झौता भएको थियो । सो सम्झौताअनुसार कोषका संचयकर्तालाई साधारण औषधी उपचारको लागि प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी दिने भन्ने थियो ।

कोषमा आवद्ध ६ लाख संचयकर्ताको बीमा सो कम्पनीमा गरिएको थियो । यसका लागि कोषले कम्पनीलाई २५ करोड रुपैयाँ र मूल्य अभिबृद्धि कर (भ्याट) वापत ३ करोड २५ लाख रुपैयाँ दिने सम्झौता भएको थियो । सम्झौताअनुसार कम्पनीले बीमा दाबी भुक्तानी नगरेपछि कोषले सम्झौता तोडेको हो ।

कोषका संचयकर्ताको धेरै दवाब भएपछि कोषले कम्पनीसँगको सम्झौता तत्कालका लागि स्थगित गरेको कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्यायले वताए ।

‘साधारण औषधी उपचारमा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्म र घातक रोगको उपचारमा प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म बीमा दाबी भुक्तानी गर्ने सम्झौता भएको थियो, यस्तो दाबी भुक्तानीमा पुर्याउनु पर्ने प्रक्रियालगायतका विषयमा संचयकर्ताले कोषमाथि दबाव दिएपछि तत्कालका लागि सम्झौता स्थगित भएको हो,’ कम्पनीको संचालक समिति अध्यक्ष उपाध्यायले विकासन्युजसँग भने ।

सम्झौताअनुसार सर्जरी, औषधी खरिद, प्याथोलोजीको यति भन्ने जस्ता शर्त उपचार कार्यको रकम तोकिने भएकोले कम्पनीले सोअनुसार भुक्तानी दिएको तर संचयकर्ताले १ लाख रुपैयाँ पाउने उपचारमा एकमुष्ठ १ लाख र १० लाख पाउने उपचारमा एकमुष्ठ १० लाख रुपैयाँको दाबी गर्दा समस्या उत्पन्न भएको अध्यक्ष उपाध्यायको भनाइ छ ।

किन भयो खटपट ?

कोषलाई समयमा दाबी भुक्तानी नगर्दा कोष र कम्पनीबीच खटपट उत्पन्न भएको हो । बीमा कम्पनीले दाबी भुक्तानी सहज गर्न नसक्दा वार्षिक २८ करोड रुपैयाँको व्यापार गुमेको छ ।

‘हाम्रो केही कमजोरी नै छैन भन्ने पनि होइन, दुई पक्षबीचको समझदारीमा केही अन्तर हुन पुगेकोले त्यसको प्रभाव व्यवसायमा समेत पर्न गयो’, कम्पनीका मुख्य व्यवस्थापक सुवास कोइरालाले भने ।

दाबी भुक्तानीकै कारण केही असमझदारी सिर्जना हुँदा बीमा कम्पनीको व्यवसायसमेत प्रभावित हुन पुगेको छ । कम्पनीले कोषको बीमा पूर्णरुपमा आफूबाट भने नखोसिएको दाबी गरेको छ । तर, कोषसँग खटपट भएको कुरा भने कम्पनीले स्वीकार गरेको छ ।

पहिलो वर्ष संचयकर्ताले गरेको दाबी रकम करिब १२ करोड रुपैयाँ थियो । यसमध्ये कम्पनीले करिब ८ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । बाँकी रहेको नियमसंगत दाबी भुक्तानीमा कुनै समस्या उत्पन्न नहुने कम्पनीको भनाइ छ ।

कोषका अनुसार कम्पनीको सबै शाखाहरुबाट भुक्तानी हुनुपर्ने भएपनि कम्पनीले सो व्यवस्था गर्न सकेन । यस्तै, कम्पनीले धेरै प्रिमियम लिएको र नियमसंगत दाबी भुक्तानीमा पनि कम्पनीले बखेडा झिकेको कोषको दाबी छ । र, दाबी भुक्तानीको समय पनि निकै लामो भएकोले सम्झौता तोड्न वाध्य हुनुपरेको कोषले वतायो ।

कोषका संचयकर्ताको तर्फबाट २ हजार ५ सयवटा दाबी परेको थियो । यसमध्ये कम्पनीले १ हजार ८ सय दाबीको भुक्तानी गरिसकेको छ । बाँकी दाबी भुक्तानी पनि गर्दै जाने कम्पनीको भनाइ छ ।

यस्तो थियो दाबी भुक्तानी गर्ने समय

कम्पनी र कोषबीच भएको सम्झौताअनुसार २५ हजार रुपैयाँसम्मको दाबी १५ दिनभित्र, १ लाख रुपैयाँसम्मको दाबी भुक्तानी ३० दिनसम्म तिर्ने र सोभन्दा माथिको दाबी भुक्तानी ४५ दिनभित्र तिर्ने भनिएको थियो । तर, कम्पनीले सम्झौताअनुसारको समयभित्र दाबी भुक्तानी नदिएको कोषको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.