‘रसुवा पानी’ काठमाडाैंमा सार्वजनिक, एशिया र मध्यपूर्वका देशमा निर्यात गरिने

  २०७६ साउन १७ गते १६:३९     विकासन्युज

काठमाडौं। रुद्रगंगा नेचुरल वाटर प्रालिले रसुवा पानी बजारमा ल्याएको हो । रसुवा जिल्लाको गोसाईँकुण्ड–६ धुन्चेमा उत्पादन भएकाे याे पानी शुक्रबार राजधानी काठमाडौँमा आयोजित विशेष समारोहमा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले रसुवा पानीको सार्वजनिक गरेकी हुन् ।

हिमाली पानी विश्वका मानिसलाई खुवाउने र देशलाई चिनाउने उद्देश्यसहित ‘रसुवा’ नामकाे पानी उत्पादन थालिएकाे कम्पनीका अध्यक्ष  गणेशबहादुर भण्डारीले बताए  । यस उद्योगबाट उत्पादित पानी राष्ट्रिय बजारमा मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री गर्ने याेजना रहेकाे उनले बताए ।

पानीकाे बजारीकरण गर्नकाे लागि कम्पनीले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलार्इ ब्राण्ड एम्बास्डर बनाएकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा लैजाने भएकाेले पानीकाे बाेटलकाे डिजाइन, लेबलिङ उच्चस्तरकाे बनाएकाे कम्पनीले जनाएकाे छ । कम्पनीले लाेपउन्मुख जनावर रेडपाण्डा संरक्षणमा सहयाेग गर्ने भन्दै पानीकाे बाेटलमा  रेडपाण्डा तस्विर राखेकाे छ । सफा बाेटलकाे भित्र गाेसाइँकुण्डकाे ताल र पृष्ठभूमिका हिमाल देखाएकाे छ ।

हाल कम्पनीले ३३० मिलिलिटर, ५०० मिलिलिटर, १ लिटर र १८ लिटरका बाेटलमा पानी बजारमा ल्याएकाे छ । कम्पनीले पानीकाे मूल्य भने सार्वजनिक गरेकाे छैन ।

साउनकाे अन्तिम सातादेखि पानी बजारमा  लैजाने तयारी भएकाे र मूल्य निर्धारणकाे लागि काम पनि भइरहेकाे भण्डारीले बताए ।

२ वर्ष अघिदेखि निर्माण शुरु भएको रसुवा पानी उद्योग २०७६ बैशाखमा निर्माण सम्पन्न भएको हो । उद्याेग स्थापना गर्ने क्रममा १० कराेड रूपैयाँ लगानी भएकाे र बजारीकरणकाे क्रममा थप ५ कराेड रूपैयाँ लगानी गर्न लागिएकाे उनले बताए ।

काठमाडौँबाट १७० किलो मिटर दूरीमा रहेको पानी उद्योगले दैनिक ५० हजार लिटर पानी प्रशोधन गरी प्याकिङ गर्ने गर्नेछ । उद्योगमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा करिब ७० जनाले रोजगार पाएका छन् ।

रसुवा पानी तत्कालै देशभरका बजारमा पुग्ने र जापान, हङकङ र चाइना पठाइने छ । आगामी दिनमा युरोप, अमेरिका, अष्ट्रेलिया लगायत विश्वभर नै बजार बिस्तार गर्ने लक्ष्य रहेको रुद्रगंगा नेचुरल वाटर प्रालिका अध्यक्ष भण्डारीले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै खानेपानी मन्त्री विना मगरले नेपालकाे पानी निर्यात गर्न सरकारले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले भने नेपाली उत्पादन निर्यात गर्ने काम निकै कठिन भएकाे बताए । छिमेकी देशहरूमा भन्दा नेपालमा कुनै पनि बस्तु उत्पादन लागत  कम्तिमा ३० प्रतिशत बढी रहेकाे, श्रमिककाे उत्पादकत्व ज्यादै कम भएकाे र पूर्वाधारकाे अवस्था नाजुक नै रहेकाे बताए ।

‘फ्रान्सकाे पानी विश्वभर बिक्री हुन्छ । नेपालकाे पानी पनि विश्वभर बेच्न सकिन्छ । नेपालीहरूले जुन देशमा गए पनि नेपाली पानी किनेर पिउन पाउने अवसर मिलाेस्’ उनले शुभकामना सन्देशमा भने ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालकाे बैदेशिक व्यापार घाटा सबैभन्दा ठूलाे समस्याकाे रूपमा देखिएकाे जनाउँदै रसुवा पानी जस्ता उत्पादन निर्यात गर्न  चेम्बर अफ कमर्श सक्दाे सहयाेग गर्ने  जनाउँदै नेपाल सरकारले पनि यस्ता उत्पादन निर्यातमा सहयाेग गर्नुपर्ने बताए ।

कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पहिला सामाजिक कार्यकाे मात्र प्रचार प्रसारमा सहयाेग गर्दै आएकाेमा अब नेपालकाे आर्थिक विकास र उत्पादन वृद्धिमा सहयाेग पुर्याउने उदेश्यले राम्रा उत्पादनकाे ब्राण्ड एम्बेस्डर बन्न लागेकाे बताए । रसुवा पानी उत्पादनकाे उदेश्य राम्राे लागेकाे र गुणस्तरीय पनि भएकाेले आफूहरूले लिनु पर्ने फि पनि नलिइ ब्राण्ड एम्बेस्डर बनेकाे आचार्यले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.