फागुन ३० गतेबाट ग्यास बिक्री बन्द गर्ने उद्योगीको चेतावनी, कमिशन बृद्धि गर्न माग

  २०७५ फागुन ८ गते १४:२१     विकासन्युज


काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले कमिशन बृद्धिको माग सहित आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरी १० बुँदे माग पूरा गराउन १० दिन कै अल्टिमेटम दिइएको छ । माग पूरा नभए फागुन १७ गतेदेखि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ । आन्दोलनका कार्यक्रम अनुसार फागुन ३० गतेबाट ग्यास बिक्री पूर्ण रुपमा ठप्प पार्ने संघका अध्यक्ष गोकुल भण्डारीले चेतावनी दिए ।

संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेतारवितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग गरेको छ । अनाधिकृतरुपमा उद्योग सञ्चालनका लागि दिइएको इजाजत, सम्बन्धन र अनुमति खारेज गर्नुपर्ने संघले माग गरेको छ ।

तराईका केही ग्यास उद्योगलाई अध्ययन र छलफल बिना नै फरक बिक्री मूल्य कायम गरिएकोले त्यसबाट भएको क्षतिपूर्ति दिएर तराईका सबै उद्योगका लागि एउटै बिक्री मूल्य कायम गर्नुपर्ने संघको माग छ । हाल सञ्चालनमा भैरहेका उद्योगहरु नै पर्याप्त रहेको भन्दै संघले अब नयाँ उद्योग आवश्यक नरहेको बताएको छ ।

संघको माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा गरेको छ । फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि भन्सार आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने र ३० गतेदेखी सम्पुर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्री वितरण पुर्ण रुपमा बन्द गर्ने संघले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.