उद्यमशीलता विकासमा बैंकको भूमिकाः ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा दिन शुरु

२०७५ पुष २५ गते १२:५२ रोशनकुमार न्यौपाने

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा चर्चित नाम हो । उमेरका हिसावले वाणिज्य बैंकका सीईओहरुमा सबैभन्दा कान्छो भएपनि वासलातको हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ हुन् । १४६ अर्ब कर्जा प्रवाह गरेको यो बैंकले करिब ४० प्रतिशत कर्जा साना तथा मझ्यौला उद्यमीलाई प्रवाह गरेको छ, जसले उद्यमशीताको विकासमा महत्वपूर्ण टेवा मिलेको छ । 


कुनैपनि उद्योग व्यवसाय गर्न पूँजी नभई हुँदैन । व्यवसायीहरुले पूँजी परिचालन तीन किसिमबाट गर्न सक्छन् । पहिलो र सबैले प्रयोग गर्ने विधि भनेको सेयर पूँजी नै हो । नेपालको सन्दर्भमा प्राइभेट कम्पनीहरुमा एकल वा सीमित व्यक्तिले सेयर पूँजी लगानी गरेर प्रारम्भिक पूँजी जुटाएका हुन्छन् । पब्लिक कम्पनीमा प्रवद्र्धक र सर्वसाधारणमा सेयर बिक्री गरेर पूँजी जुटाएका हुन्छन् ।

पूँजी जुटाउने दोस्रो विकल्प भनेको ऋणपत्र जारी गर्ने, भेन्चर क्यापिटल, स्टार्टअपबाट हो । दोस्रो विधिबाट पूँजी जुटाउने अभ्यास नेपालमा ज्यादै कम छ । तेस्रो विधि भनेको बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर लगानी गर्ने । नेपालमा सबैभन्दा बढी पूँजी परिचालन हुने बैंकको ऋण लिएर नै हो ।

उद्यमशीलताको विकासमा बैंकहरु धेरै सजग भईरहेका छन् । एनआईसी एशिया बैंकको कुरा गर्ने हो भने ‘धनी झन् धनी बन्नु भन्दा गरिब कम गरिब’ बन्दा अर्थतन्त्रको हित हुन्छ भन्ने मान्यतामा काम गरिरहेका छौं । एनआईसी एशिया बैंकले १४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसको ४० प्रतिशत साना तथा मझ्यौला कर्जा छन् । १० करोड रुपैयाँसम्मको कर्जालाई हामीले साना तथा मझ्यौला (एसएमई)मा राखेका छौं । कूल कर्जाको १० प्रतिशत विपन्न वर्गमा लगानी गरेका छौं । कूल कर्जाको ५० प्रतिशत कर्जा विपन्न र साना तथा मझ्यौला व्यवसायमा प्रवाह हुनु भनेको धेरै राम्रो संकेत हो । यसले उद्यमशीलताको विकासमा ठूलो टेवा पुर्याएको छ । नयाँ उद्यमीको जन्म भईरहेको छ । यस्तो कर्जाको असुली पनि राम्रो छ । कूल बैंकिङ क्षेत्रले करिब २६ खर्ब कर्जा लगानी छ । त्यसको २५ प्रतिशत साना तथा मझ्यौला व्यवसायीलाई नै प्रवाह भएको छ ।

कर्जा प्रवाह गर्ने सम्बन्धमा सरकारले लिएको नीति पनि राम्रो छ । शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने, विपन्न वर्ग, महिला वर्गलाई कर्जा दिने सरकारको नीतिलाई अनुशरण गर्दै हामीले खास गरी कृषि र पर्यटन क्षेत्रमा बढी कर्जा प्रवाह गरिरहेका छौं ।

सहयोगी बैंक

समयअनुसार बैंकहरुमा परिवर्तन आएको छ । कर्जा मात्र दिने होइन, उद्यमीको सोच, योजना र रणनीतिलाई बैंकहरुले थप परिस्कृत बनाउन सहयोग गरिरहेका छन् । पहिला बैंकहरुमा एउटा कर्जा विभाग हुन्थ्यो । सबै प्रकारका कर्जाको फाइल एउटै व्यक्ति वा एउटा विभागले हेर्ने गरिन्थ्यो । अहिले एनआईसी एशिया बैंकले कृषि कर्जाको लागि अलग्गै, हाइड्रो कर्जाको लागि अलग्गै, औद्योगिक कर्जाको लागि अलग्गै, व्यापारिक कर्जाको लागि अलग्गै, पर्यटन क्षेत्रमा जाने कर्जाको लागि अलग्गै विभागहरु गठन गरेको छ । विस्तारै स्पेशलाईजेशन हुँदै गएको छ । यसले उद्यमीहरुको जोखिमलाई कम गर्न, राम्रो काउन्सिलिङ गर्ने काम भईरहेको छ ।

अनुभवमा भरोसा

अनुभवी उद्यमीहरुलाई बैंकहरुले कर्जा दिँदा लचिलो नीति लिन्छन् । व्यवसायमा अनुभव निकै ठूलो कुरा हो । एउटा व्यवसायमा सफल भएको उद्यमीले अर्को व्यवसाय सञ्चालन गर्दा धेरै हदसम्म सफलता मिलेको देखिन्छ । तर, नयाँ उद्यमीहरु असफल भएको उदाहरण प्रशस्त देखिन्छन् । कम्तिमा दुई वर्षको व्यवसायिक यात्रा सफल भएपछि बैंकले कर्जाको लागि विश्वास गर्छ । त्यसैले कुनै व्यवसायीसँग लामो अनुभव छ र उसले नयाँ काम गर्न चाहेमा बैंकहरुले कम धितोमा पनि बढी कर्जा दिएका हुन्छन् ।

बढी जोखिम देखिएको कर्जामा बैंकले २०० रुपैयाँ बराबरको धितो राखेर १०० रुपैयाँ मात्र कर्जा लगानी गर्छ । कम जोखिम देखिएको परियोजनामा १०० रुपैयाँको धितोमा १०० रुपैयाँ नै कर्जा प्रवाह भएको हुन्छ । अझै सुरक्षित मानिएको कर्जामा ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा प्रवाह भएका पनि छन् । ठूलो परियोजनामा जाने कर्जाको लागि बैंकले चाहेरपनि उद्यमीले पर्याप्त धितो दिन सक्दैनन् । त्यस्तो अवस्थामा परियोजना धितो मानेर कर्जा लगानी भएका छन् । तर, परियोजना धितोमा जाने कर्जाको प्रर्फमेन्स पनि धेरै राम्रो छैन ।
बैंकहरुले धितो नलिई कर्जा दिंदैनन् । यो पनि भुल्नु हुन्न कि बैंकहरुले धितो लिलामी नै गरेर कति कर्जा असुल गरेका छन् ? एनआईसी एशिया बैंकको कुरा गर्ने हो भने शुन्य दशमलव ५ प्रतिशत कर्जामा पनि बैंकले धितो लिलामी गर्नु पर्दैन ।

बैंकप्रतिका गुनासा

बैंकहरुले कर्जा प्रवाह गर्दा धितो अनिवार्य गरे, नविनतम सोच, सम्भावना बोकेका योजनामा बिनाधितो कर्जा प्रवाह गरेनन् भन्ने गुनासा सञ्चार माध्यममा, सार्वजनिक मञ्चहरुमा उठिरहेका छन् । नविनतम सोच, राम्रा योजना भएका मानिसहरु पूँजीको अभावमा अगाडि बढ्न सकेनन् कि भन्ने तर्कहरुपनि उठ्ने गरेका छन् ।

नेपाल जस्तो देश जहाँ बैंकको कर्जा जोखिममा पर्दा असुल गर्नको लागि पर्याप्त कानून, नीति नियम, आवश्यक संरचना छैनन्, त्यस्तो देशमा बिनाधितो कर्जा प्रवाह गर्न बढी जोखिमपूर्ण हुन्छ । बिनाधितो गरिएको लगानी उठेन भने ऋणीलाई कालोसूचिमा राख्ने बाहेक ऋण असुलीका लागि अरु उपाय छैनन् । बैंकहरुले सर्वसाधारणको निक्षेप लिएर व्यवसायीलाई कर्जा दिने हो । कर्जा असुली नहुँदा निक्षेपकर्तालाई पैसा फिर्ता दिन सकिंदैन । राम्रो क्रेडिट रेटिङ सिस्टम, एसेट म्यानेजमेन्ट कम्पनी, बैंकप्रति लचिलो अदालती प्रणाली, कर्जाको इन्स्योरेन्स जस्ता बैकिङ क्षेत्रलाई सुरक्षित बनाउने प्रणालीहरुको विकास र असल कर्जा अभ्यासपछि क्रमशः धितोमाथिको निर्भरता घट्दै जानेछ ।

उद्यमीप्रति बैंकहरुले अविश्वास गरेर धितो मागेका होइनन् । व्यवसाय संकटमा पर्यो, व्यवसायीले बैंकको कर्जा भुक्तानी गर्न सकेन भने उसलाई सहयोग गर्ने अन्य संरचना र प्रणालीगत विकास नभएकोले बैंकहरुले उच्च जोखिम लिएर बिनाधितो लगानी गर्न नमानेका हुन् ।

महँगो ब्याजदर किन ?

बैंकहरुले ऋणीसँग उच्चदरको ब्याज लिए, त्यसले उद्यमीहरुलाई गाह्रो भयो भन्ने आवाजपनि उठिरहेको हुन्छ । पछिल्लो दुई वर्षमा त यस्तो आवाज धेरै नै सुनिन्छ । तर, हामीले वित्तीय क्षेत्रका सबै पक्षको हितलाई हेर्नु पर्छ । बैंकमा सबैभन्दा धेरै निक्षेपकर्ता हुन्छन् । त्यसपछि ऋणी हुन्छन् । त्यसपछि सेयरधनी हुन्छन् । बैंक सञ्चालनमा कर्मचारी हुन्छन् । उनीहरु सबैको हितलाई सन्तुलन गर्दै जानुपर्छ । बैंकले एउटा ग्राहकसँग निक्षेप लिएर अर्को ग्राहकलाई कर्जा दिने हो । बैंकहरुले ९५ प्रतिशत सर्वसाधारणसँग निक्षेप लिएर ५ प्रतिशत उद्यमीलाई कर्जा प्रवाह गरेका हुन्छन् ।

निक्षेपकर्ताको हितमा काम गर्दा, कर्जाको माग अनुसार निक्षेपको वृद्धिका लागि बेलाबखत निक्षेपको ब्याज बढाउनु पर्ने हुन्छ । त्यतिबेला कर्जाको ब्याजपनि माथि जान्छ । जतिबेला निक्षेपको ब्याजकम हुन्छ, बैंकले कर्जाको ब्याजदर पनि घटाएका नै हुन्छन् । आर्थिक चक्र झंै व्याजदरको चक्रमा देखिने उतारचढावको क्रममा ब्याजदर कम हुँदा निक्षेपकर्तालाई मर्का परेको हुन्छ, ऋणीलाई लाभ हुन्छ । ब्याजदर बढी हुँदा निक्षेपकर्तालाई लाभ पुग्छ, तर ऋणको ब्याज वृद्धि हुन जान्छ । कच्चा पदार्थको मूल्य वृद्धि भएपछि उत्पादित तयारी बस्तुको मूल्य बढाउनु उद्यमीको वाध्यता जस्तै निक्षेपको ब्याज वृद्धिपछि कर्जाको ब्याज वृद्धि गर्नु बैंकहरुको बाध्यता हो ।

बैंकहरुको लागि निक्षेप र कर्जा सन्तुलन कायम राख्न पनि कठिन छ । कर्जाको माग १५ वर्ष, २० वर्षको हुन्छ । सोहीअनुसार बैंकहरुले लामो अवधिको कर्जा लगानी गरेका हुन्छन् । तर, निक्षेप १५ वर्षको लागि वा २० वर्षको लागि बैंकले लिन चाहेमा निक्षेपकर्ताहरु त्यति लामो अवधिका लागि निक्षेप राख्न तयार देखिदैनन् ।

उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू


उद्यमीका व्यवस्थापकीय चुनाैती; पूँजी, जनशक्ति र जमिनको आकाशिंदो मूल्य -उद्यमी अन्जन श्रेष्ठकाे विचार

सफल उद्यमी बन्न चन्द्र ढकालको सूत्रः उपभोक्तालाई हीत, सरकारलाई राजश्व, उद्यमीलाई नाफा

नेपालमा उद्यमशीलता विकासका चुनौतीः अर्थशास्त्री डा. अच्युत वाग्लेको विचार