पुनर्बीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द

  २०७४ भदौ १८ गते ९:३५     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेड गम्भिर आर्थिक संकटमा परेको छ । चौधरी ग्रुप मुख्य प्रवद्र्धक रहेको यस कम्पनीमा सोही ग्रुपबाट नै भएको ठूला दावी र भुक्तानीका कारण यो कम्पनी गम्भिर आर्थिक संकटमा परेको हो । साथै कम्पनीको कमजोर व्यवस्थापकीय क्षमता र पुर्नबीमा गर्दा गरिएको त्रुटीहरुले कम्पनी निकै अप्ठेराे परेको समाचर आईतबार देशविकास पत्रिकामा छापिएको छ ।

पछिल्लो पटक चौधरी ग्रुपले प्रवद्र्धन गरेको हाउजिङ कम्पनी ‘सिटीस्केप’बाट परेको ५३ करोड रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गर्ने क्रममा यूनाईटेड इन्स्योरेन्स कम्पनी थला परेको छ । यसअघि चौधरी ग्रुप कै सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स कम्पनीलाई यूनाईटेड इन्स्योरेन्स कम्पनीले करिव ५८ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको थियो ।

सिजी इम्पेक्स, इओएल र सिजी इलेक्ट्रोनिक्स विनोद कुमार चौधरीको कम्पनीहरु हुन् भने सिटीस्केप अरुण कुमार चौधरीको कम्पनी हो ।
प्रवद्र्धक समूहबाटै आएको बीमा दावी र भुक्तानीका कारण ३० करोड चुक्ता पुँजी भएको यो कम्पनी करिव २६ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ । परिणाम यस्तो भएको छ कि आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भनी सञ्चालक समिति गरेको आफ्नै निर्णय आफैले रद्द गर्नु परेको छ ।

लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतका आधारमा बीमा समितिले यूनाईटेड इन्स्योरेन्स कम्पनीलाई करिव ३४ करोड रुपैयाँ प्रोभिजन गर्न लगाएको छ । ‘यो पुरानो केस हो । बीमा समितिका तत्कालिन अध्यक्ष प्रा.डा फत्तबहादुर केसीको संरक्षणमा यूनाईटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले समस्या ढाकछोप गरेर राखेका थिए । पोको पारेर लुकाएर राखिएको पुरानो समस्याको पोको अहिले खुल्दै गएको मात्र हो’ स्रोतले भन्यो ।

उच्च स्रोतका अनुसार २०७२ बैशाखमा गएको भूकम्पले पुर्याएको क्षतिबाफत सिटीस्केपले करिव ५३ करोड रुपैयाँ बीमा दावी गरेको छ । अप्रत्यक्ष रुपमा प्रवद्र्धक समूहसँग जोडिएको दावी आएपछि यूनाईटेड इन्स्योरेन्स कम्पनीले तत्काल २५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
युनाईटेडले बीमितलाई भुक्तानी दिएको तर पुर्नबीमा कम्पनीहरुले भुक्तानी गर्न नमालेकोले कम्पनी धरापमा परेको स्रोतले बतायो । ‘२५ करोड सेयर पुँजी भएको कम्पनीमा एउटै दावीबाट ४० करोड भन्दा बढीको दाहित्व थएिकोले कम्पनी थला परेको छ’ स्रोतले भन्यो ।

स्रोतका अनुसार ५३ करोडको दावीमा पुर्नबीमा लिडर कम्पनी जेआईसीले १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । तर फलोअर रिइन्स्योरेन्स कम्पनीहरुले दावी भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् । सोही कारण कम्पनी माथि करिब ४० करोड रुपैयाँको दाहित्व थपिएको हो ।
‘१३ करोड पुर्नबीमाबाट आएको छ । ६ करोड कम्पनीको आफ्नै दाहित्वमा पर्छ, फलोआर रिइन्स्योरेन्स कम्पनीले दिनु पर्ने ३४ करोड रुपैयाँ आएको छैन’ स्रोतले भन्यो–‘बीमा समितिले रिइन्स्योरेन्सबाट आउनु पर्ने तर नआएको रकम प्रोभिजन गर्न निर्देशन दिएको छ ।’

प्रोभिजन गरेर पुनः वार्षिक प्रतिवेदन पेश गर्न बीमा समितिले दिएको निर्देशन यूनाईटेड इन्स्योरेन्स कम्पनीले अवज्ञा गरेको छ । ‘हामीले एक महिना समय दिएका थियौ । प्रोभिजन गरेर नयाँ प्रतिवेदन आएन’ स्रोतले भन्यो–‘समय थप्न माग गर्दै चिठ्ठी दर्ता भएको सुनेको छु ।’

बीमा समितिको निर्देशन अनुसार प्रोभिजन गर्दा कम्पनी करिव २६ करोड नोक्सानमा जाने भएको छ । संचित नोक्सानीमा गएको कम्पनीले हकप्रद सेयर निष्काशन गर्न पनि सक्दैन । सोही कारण आर्थिक वर्ष २०७२/७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने र १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सञ्चालक समितिको निर्णय रद्द गरिएको छ ।

भदौ १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बोनस सेयर र हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धि पुरानो निर्णय रद्द गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.