राष्ट्र बैंक सञ्चालक समितिको बैठक खर्च १२२ प्रतिशतले वृद्धि, भत्ता र खान्कीमा प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च

  २०७३ मंसिर २८ गते ११:४९     विकासन्युज

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको भत्ता र खाजा खर्च १२२ प्रतिशतले वृद्धि भएको छ । सञ्चालक समितिको बैठक संख्यामा वृद्धि भएको र क्यान्टिनको खान्की बन्द गरेर पाँच तारे होटल वा वहुराष्ट्रिय चेन रेष्टुरेन्टको खान्की मगाएर खान थालिएकोले खर्चमा उच्च वृद्धि देखिएको छ ।

राष्ट्र बैंक सञ्चालक समिति

राष्ट्र बैंक सञ्चालक समिति

गत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालक समिति भत्ता र खान्की खर्च ८० लाख रुपैयाँ नाघेको छ । गएको एक आर्थिक वर्षमा १०० पटक सञ्चालक समितिको बैठक बसेको छ । ती बैठकमा खाजा खर्चतर्फ ४५ लाख रुपैयाँ र बैठक भत्ता तर्फ ३५ लाख रुपैयाँ खर्च भएको स्रोतले जनाएको छ । सञ्चालक समितिमा भत्ता र खान्कीका लागि प्रतिव्यक्ति वार्षिक १२ लाख खर्च हुन थालेकाे छ ।

आर्थिक वर्ष २०७१/७२ सालमा मात्र खाजा खर्चतर्फ २० लाख २५ हजार र बैठक भत्ता १५ लाख ७५ हजार रुपैयाँ खर्च भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो । आर्थिक वर्ष २०७१/७२ मा जम्मा ४५ वटा बैठक बसेको र सो बैठकमा सञ्चालक समितिको बैठक भत्ता र खाजा खर्च गरी जम्मा ३६ लाख रुपैयाँ खर्च भएको थियो । दुई आर्थिक वर्षको खाजा खर्च र बैठक भत्ता मात्र एक करोड १६ लाख भन्दा बढी पुगेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिले प्रतिव्यक्ति प्रति बैठक पाँच हजार रुपैयाँ पाउने गरेका छन् । सञ्चालक समितिमा सात जना सञ्चालक रहेका छन् ।
राष्ट्र बैंक ऐन अनुसार महिनामा कम्तिमा एक पटक सञ्चालक समितिको बैठक बस्नु पर्ने व्यवस्था छ । त्यसबाहेक बोर्ड बैठकको खर्च कति भनेर सीमा नतोकिएका कारण राष्ट्र बैंकमा मनोमानी रुपमा खर्च हुन थालेको राष्ट्र बैंक स्रोतको दावी रहेको छ ।

‘प्रत्येक बोर्ड बैठकमा भत्ता खर्च ३५ हजारको हाराहारीमा हुने गरेको छ भने खाजा खर्च ४५ हजारसम्म पुग्ने गरेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो । पछिल्लो समय सञ्चालक समितिको बैठक भत्ता प्रति व्यक्ति प्रति बैठक ५ हजारबाट बढाएर सात हजार पाँच सय रुपैयाँ बनाउन प्रस्ताव गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । राष्ट्र बैंकमा व्यवस्थापन समितिको बैठकमा पनि सहभागिलाई सञ्चालक समिति सदस्यले पाउने सरह भत्ता दिइन्छ ।

स्रोतका अनुसार पहिले सञ्चालक समितिले राष्ट्र बैंक भित्र रहेको क्यान्टिनमा तयार भएको खाजा खान्थे भने अहिले होटल र्याडिसन, बबरमहलस्थित रिभिजिटेड र केएफसीबाट खाजा मगाइन्छ । त्यस्तै, भाटभटेनीको जुस तथा ड्राइ फ्रुट्समा बोर्डका लागि खान्की मगाईन्छ ।
गभर्नरमा डा चिरञ्जीवित नेपाल र बोर्ड सदस्यमा लोकदर्शन रेग्मी आएपछि क्याटिनको खाना बन्द गरेर पाँच तारे होटल वा वहुराष्ट्रिय चेन रेष्टुरेन्टबाट खान्की मगाउन थालिएको स्रोतले बतायो । डा नेपाल गभर्नर भएपछि राष्ट्र बैंकको इतिहासमा पहिलो पटक गभर्नरले आवास सुविधा पनि लिएका छन् ।

हाल राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर नेपाल अध्यक्ष, अर्थसचिव शान्तराज सुवेदी, डेपुटी गभर्नरद्वय शिवराज श्रेष्ठ, चिन्तामणि शिवाकोटी, अर्थविद श्रीराम पौडेल, डा रामहरि अर्याल र बालकृष्णमान श्रेष्ठ सदस्य छन् । योग्यता विवादका कारण गत साता मात्र बालकृष्णमान श्रेष्ठलाई सर्वोच्च अदालतले काम गर्न बन्देज लगाएको छ ।

स्रोतका अनुसार बोर्ड बैठक कति समयसम्म बस्ने र कम्तिमा कतिवटा विषयमा निर्णय गर्ने भन्ने कुनै कार्यविधि छैन । बोर्ड बैठक प्रायः अफिस समय सकिएपछि बस्ने गरेको छ । कार्यालय समयमा अर्थसचिवले नभ्याउने र गभर्नर तथा डेपुटी गभर्नरहरु व्यवस्थापन समितिको काममा व्यस्त हुने भएकोले कार्यलय समयअघि वा पछि बस्ने चलन रहेको छ ।

सम्वद्ध स्रोतका अनुसार बोर्ड सदस्यहरु शुरुको आधा घण्टा आगमन भन्दै पिउदै र गफिदै बस्छन् । करिव आधा घण्टा छलफल गरेपछि उठ्न हतार गरेर खाजा खान्छन् र बैठक भत्ता बुझ्न थाल्छन् । करिव १ घण्टाको अवधिमा बैठक सकेर बाटो लाग्छन् । अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई जथाभावी बैठक नराख्न र बैठक भत्ता नबढाउन दबाब दिने नेपाल राष्ट्र बैंक अहिले आफै कुनै विषय नै नराखी पनि बैठक बस्ने र निर्णय विना नै उठेर भत्ता बुझ्ने गरेको स्रोतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.