भृकुटीमण्डपमा फुटवेयर बिजनेस एक्स्पो शुरु, १४० भन्दा बढी स्टलहरु रहने

  २०७४ चैत २ गते १८:२४     विकासन्युज

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भृकुटीमण्डपमा ‘फुटवेयर बिजनेस एक्स्पो २०७४’ शुरु भएको छ । बिहीबारदेखि सञ्चालनमा आएको उक्त मेलामा १४० भन्दा बढी स्टलहरु रहेका छन् ।

साथै, जुत्ता चप्पल तथा छालाजन्य उत्पादन तयार पार्ने नेपालका ५० भन्दा बढी सबै उत्कृष्ट र चर्चित ब्राण्डहरुको सहभागीता रहेको छ ।
उक्त मेलामा ग्राहकहरुले आफ्नो चाहनाअनुसारको जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरु अवलोकनका साथै छानीछानी खरिद गर्न सक्नेछन् ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल तथा नेपाली जुत्ता घरको सहआयोजनामा यस मेला शुरु भएको हो । मेलाको उद्घाटन ३ नं. प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेलले एक समारोहका बीच गरेका हुन् । उनले फुटवेयर क्षेत्रले उल्लेख्य रुपमा रोजगारी सिर्जना गर्न सहयोग पुर्याएको बताएका छन् । साथै सरकारले कच्चा पदार्थमा छुट दिन सके अझै यो क्षेत्र फष्टाउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

मेला आयोजक संस्था फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले उत्पादनको ८० प्रतिशत उत्पादन र प्रदेश सरकारले थप प्रत्साहनका कार्यक्रम ल्याउनेमा विस्वस्त रहेको बताएका छन् । साथै, उनले निजामती कर्मचारी, सेना, पुलिसको प्रयोगमा स्वदेशी उत्पादनका जुत्ताहरुको प्रयोग बढाउन सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

मेलाको सहआयोजक नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले अब भने एकिकृत रुपमा फुटवेयर बिजनेस एक्स्पोको रुपमा बृहत मेला सञ्चालन भएको बताए । जसले गर्दा उपभोक्तालाई पनि सम्पुर्ण ब्राण्डका जुत्ता चप्पल इत्यादि छानीछानी खरिद गर्न सहयोग पुग्नेछ ।

मेलाले ५ करोड रुपैयाँ बढीको कारोबार गर्ने आयोजकको अनुमान छ । त्यस्तै, मेलामा २ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ । मेलामा बालबालिकादेखि वृद्धवृद्धाहरु सबैलाई आवश्यक पर्ने जुत्ताचप्पलहरु राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.