
काठमाडौं । विनियोजन गरिएको विकास बजेट सक्न सरकारले अब दैनिक औसत ३ अर्ब १४ करोड ५४ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । चालु आर्थिक वर्ष सकिन अब २ महिना केही दिन बाँकी रहदा लक्ष्यको ४० प्रतिशत हारहारीमा मात्र खर्च भएपछि यस्तो अवस्था आएको हो ।
सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि दैनिक यो रकम खर्च गर्नुपर्ने देखिएको हो । आर्थिक वर्ष सकिन अब ६४ दिन मात्र बाँकी रहदा अझै ६० प्रतिशत विकास खर्च हुन बाँकी छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च विनियोजन गरेको मध्ये वैशाख ३० गतेसम्म १ खर्ब ८६ अर्ब ३३ करोड रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
गत वर्षदेखि डेढ महिना अगावै बजेट ल्याउदा पनि विकास खर्चमा सुधार हुन सकेको छैन् । चालु आर्थिक वर्षदेखि बजेट खर्चको अख्तियारी लिनु नपर्ने र सिधै ठेक्का गरेर बजेट खर्च गर्न पाउने व्यवस्था पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् ।
सरकारले गत फागुनमा गरेको बजेटको अर्धवार्षिक मूल्याँकनमा ७० प्रतिशत अर्थात २ खर्ब ३४ अर्ब ६२ करोड रुपैयाँ मात्र खर्च हुने प्रक्षेपण गरेको छ । बाँकी ३० प्रतिशत अर्थात १ खर्ब रुपैयाँ खर्च नहुने देखिएको छ । सरकारले कुल बजेटको ८४.६७ प्रतिशत खर्च नहुने देखाएको छ ।
चालु खर्च ७० प्रतिशत अर्थात ५ खर्ब ६२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ पनि ३८.२४ प्रतिशत खर्च भएको छ ।