काठमाडौं । बैंकको ब्याजदर स्थिर नहुदा औद्योगिक क्षेत्रमा ठुलो लगानी आउन नसकेको उद्योगीले बताएका छन् ।
नेपालको बैंकिङ प्रणालीमा ब्याजदरमा धेरै उतारचढाव हुदा वास्तविक क्षेत्रमा ठुलो लगानी आउन नसकेको उद्योगीको भनाई छ ।
नेपाल राष्ट्र बैंकले सोमबार आयोजना गरेको पुर्व बजेट छलफलमा निजी क्षेत्रको तर्फबाट सुझाव दिदै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले स्थिर ब्याजदर आवश्यक भएको बताए । ब्याजदरमा भएको उतारचढावले लगानीको प्रक्षेपण गर्न नसकेको बताए ।
नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले आर्थिक वृद्धिका लागि ब्याजदरमा स्थिायित्व हुनुपर्नेमा जोड दिए । उनले बैंकिङ प्रणालीमा तरलता सहज गराउन विकास खर्च छिटो बढाउने, राष्ट्र बैंकमा रहेको सरकारको वचत रकम चललचल्तीमा ल्याउदा बजारमा तरलताको अवस्था सहज हुने तर्क गरे ।
उनले वास्तविक क्षेत्रमा पुनरकर्जा सीमा बढाएर १ खर्ब रुपैयाँ पुर्याउदा कर्जाको ब्याजदर घटेर ९ प्रतिशत भन्दा तल आउने बताए । उनले राष्ट्र बैंकमा रहेको १ खर्ब रुपैयाँ बढी धरौटी रकम पनि बजारमा ल्याउन सुझाव दिए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले साना तथा लघु उद्यमलाई केन्द्ीत गरेर योजना ल्याउन सुझाव दिए । साना तथा घरेलु उद्योग पारिवारिक पुँजीले सञ्चालन भइरहेको बताउदै उनले पुँजीको पंहच साना उद्यममा पनि हुनुपर्नेमा जोड दिए । उनले प्राथमिकता प्राप्त बाँस्केटमा राखेर उत्पादनमुलक उद्योगमा लगानी गर्न र विपन्न कर्जालाई लघुउद्यममा जोड दिन उनले माग गरे ।
सो अवसरमा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाबहादुर थापाले निकासी बढ्ने गरी बजेटमा कार्यक्रम आउनुपर्ने बताए । उनले सरकारले दिएको निकासी सहुलियत प्रभावकारी नभएको भन्दै यसलाई सहजीकरण गर्न उनले सरकारको ध्यानकर्षण गरेका छन् । उनले २ प्रतिशत सहुलियत मागे ।