काठमाडौं । वामपन्थी सरकार आएसँगै पछिल्लो डेढ महिनामा तीन पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ । सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमले भारतबाटै मुल्य बढेर आएको भन्दै गएको महिना मात्रै दुई पटक भने बिहीबारदेखि लागू हुने गरी फेरी मुल्य बढाएको हाे ।

निगमका प्रवक्ता वीरेन्द्र गोईतले इण्डीयत आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मुल्य बढाएर पठाएको भन्दै सोहीअनुसार स्वचालित मुल्य विधिको आधारमा निगमले पनि मुल्य समायोजन गरेकाे बताए । १५/१५ दिनमा निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्ने गरेको छ । सोेही समायोजनको क्रममा पछिल्लो समय निगमले निरन्तर तेलको मुल्य समायाेजन गर्ने क्रममा बढ्न गएकाे उनकाे भनाइ छ ।
गएको महिना मात्रै निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो । त्यसयता दुई हप्ताअघि पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ बढाएको थियो र केही दिन अघि मात्रै पेट्रोल, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ प्रतिलिटर बढाएको छ ।
त्यसयता राजधानीमा प्रतिलिटर पेट्रोल बढेर १०८, डिजेल र मट्टीते ९०/९० रुपैयाँ पुगेको छ । महिनादिनअघि चैतमा प्रतिलिटर पेट्रोलको मुल्य १०३, डिजेल र मट्टीतेलको मुल्य ८३/८३ रुपैयाँ थियो । तीन पटक मुल्य वृद्धि हुदा प्रतिलिटर पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ७/७ रुपैयाँ मुल्य बढेको हाे ।
निगमले तीन पटक पेट्रोलिमय पदार्थको मुल्य बढाइरहँदा पहिलाे पटक २० करोड ३ लाख रुपैयाँ नाफा गरेकाे थियाे, दोस्रो पटक २१ करोड २३ लाख भने अहिलेको मुल्य वृद्धिबाट १० करोड ५५ लाख रुपैयाँ नाफा कमाउने भएकाे छ ।
मुख्य दलका विद्यार्थी संगठनहरुले बिहीबार नै संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मुल्यवृद्धि तुरुन्त खारेज गर्न माग गरेका छन् ।
नेविसंघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले अहिले निगमले विगत तीन वर्ष यताकै सबैभन्दा उच्च पेट्रोलियम पदार्थकोे मुल्य बढाएको बताएका छन् । अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्नेमा उल्टै मुल्य वृद्धि गरेको भन्दै खारेज नगरे सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले पनि निगमले सरकारकाे निर्णयअनुसार नै इन्धनकाे भाउ स्वचालित मुल्य प्रणालीकाे अाधारमा समायाेजन गरेकाे जानकारी दिए ।
मुल्य समायाेजनबाट निगमले प्राप्त गरेकाे नगन्य रहेकाे उनकाे भनाइ छ । ‘डिजेल र पेट्रोलमा प्रतिलिटिर १/१ रुपैयाँ मात्रै घडबढ भए पनि करिब २० करोड रुपैयाँ तलमाथि हुन्छ’, उनले भने ।
‘भावि दिनमा सम्भावित पेट्रोलियम पदार्थको भैपरिआउने समस्या समाधान गर्न पनि कम्तिमा महिनामा ५० करोड रुपैयाँ नाफा हुन पर्ने उनको तर्क छ । त्यति नाफा पनि निगमकाे वार्षिक कारोबारको अाधारमा नगन्य हाे,’उनले थपे ।
उनकाे अनुसार निगमले मासिक करिब १६ अर्ब रुपैयाँको कारोबार गर्ने गरेको छ । जसमा राजस्व लगायत विभिन्न शुल्कबापत सरकारले मासिक ४ अर्ब रुपैयाँ प्राप्त गर्दछ भने इण्डीयन आयल कर्पोरेशनले करिब १२ अर्ब रूपैयाँ लैजान्छ ।