काठमाडौं । कृषि क्षेत्रको विकासको लागि जमिन महत्वपूर्ण रहेको भन्दै कृषि योग्य जमिनको कित्ताकाट गरि बिक्री गर्न रोक लगाउने कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले बताए । मन्त्रालयमा बिहीबार पत्रकारहरुसँगको भेट कार्यक्रममा कृषि क्षेत्रको विकासलाई जोड दिदै जताभावी गरिने जग्गाको बिक्री रोक्ने उनको जोड छ ।
‘कृषि योग्य जमिन जताभावी बिक्री गर्ने क्रम रोकिएन भने कृषि क्षेत्रको विकास असम्भवन छ,’ उनले भने ‘कुनैनकुनै नीति बनाएर कृषि योग्य जमिनको कित्ताकाट रोक्नेछु ।’ भूउपयोग नीति बनिसकेको अवस्था छ । यसको लागि प्रधानमन्त्रीले बोल्ड कदम लिने बेला आएको उनको भनाइ छ ।
‘विगतमा पनि सरकारको जग्गा कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरणमा रोक लगाइएको थियो’, उनले भने ‘तर त्यसको सफल कार्यान्वयन हुन सकेन ।’आवश्यकताअनुसारका कानून बनाएर जग्गा कित्ताकाट रोक्ने उनले बताए ।
उनको अनुसार नेपालमा १० देखि १६ प्रकारको कृषि सुहाउदो हावापानी भएपनि आशातित कृषि क्षेत्रमा विकास हुन सकेको छैन ।
‘अहिलेसम्म मुलुक कृषिजन्य कुनै पनि वस्तुमा आत्मनिर्भर बन्न सकेको छैन,’ उनले भने ‘वार्षिक १ खर्ब १३ अर्ब रुपौयाँकोको कृषिजन्य वस्तु आयात भएको देखिन्छ ।’
लाखौं रोजगारस सृजना गर्ने कृषि क्षेत्रको विकास हुन नसक्नुमा केहीनकेही कमजोरी रहेको उनको बुझाइ छ । त्यसको लागि अध्ययन, अनुगमन अघि बढाउने कृषि मन्त्री खनालले जानकारी दिए ।
सरकार कृषिजन्य वस्तुको आत्मानिर्भरको दिशामा अघि बढ्ने उनले घोषणा गरे । उनको अनुसार सो प्रक्रिया अघि बढिसकेको छ । मन्त्रालयले राजा महेन्द्र विर विक्रम शाहाको पालामा स्थापना भएका कृषि कार्यक्रमहरुलाई पुनःसञ्चालन गने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पुनः मुल्याङकन गरी नयाँ ढंगले अघि बढाउने, निजी क्षेत्रबाट कृषिमा भएका सकरात्मक पाटोको अध्ययन गर्ने लगायतका कार्य तत्काल अघि बढाउने उनले जानकारी गराएका छन् ।