काठमाडौं । नेपालबाट बंगलादेशमा धागो निकासी रोकिएपछि यसलाई खुलाउन सरकारले पहल थालेको छ ।
नेपालबाट बंगलादेशमा करिब ५ अर्ब रुपैयाँको धागो (यार्न) निर्यात हुने गरेको थियो । निकासीमा अबरोध आएपछि यसलाई खुलाउन पहल सुरु भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए ।
आउदो जेठ १६ र १७ गते काठमाडौंमा हुने नेपाल र बंगलादेशबीचको वाणिज्य मन्त्रालय स्तरिय वैठकमा निकासी खुलाउन नेपालले जोड दिने उनले बताए । ‘हाम्रो मुख्य ऐजेन्डा बंगलादेशले धागो निकासीमा लगाएको अबरोध हटाउनु हो,’ उनले भने । अबरोध हटेपछि बंगलादेशमा मात्रै मुलुकदेखि करिब ५ अर्बको धागो वार्षिक निर्यातको बाटो खुल्नेछ ।’
मन्त्रालयको अनुसार केही वर्ष अघिदेखि बंगलादेशले एकै पटक नेपाल र भारतबाट धागो आयात गर्न छोडेको थियो । पछिल्लो समय भारतदेखि भने बंगलादेशले धागो खरिद गर्न थालेको छ । विगतमा मुलुकबाट बंगलादेश कांकडभिट्टाको फुलबारी बंगलावन्ध नाका हुदै धागो निर्यात हुने गरेको थियो ।
त्यस्तै बंगलादेशसँगको व्यापार वैठकमा क्वारेन्टाइन, ट्रान्जीट, कोरिडोर लगायतको सहजताको विषयमा समेत घनिभुत छलफल हुने प्रवक्ता सैंजुले जानकारी दिए।
व्यवसायीहरुले पछिल्लो समय तेस्रो मुलकको रुपमा बंगलादेशलाई रोज्दै आएका छन् । केहि महिनाअघि मात्रै अदुवामा भारतले अवरोध गरेपछि व्यवसायीहरुले बंगलादेशमा पहिलो पटक अदुवा निर्यात गर्न थालिसकेका छन् ।