सिन्डिकेटधारीकाे आन्दोलन असफल हुने पक्का, बामपन्थी व्यवसायीहरुले भने हामी सिन्डिकेट विरोधी हौं

<p>काठमाडौं । बामपन्थी यातायात व्यवसायीहरु सिन्डिकेटको आन्दोलनबाट पछि हटेका छन् । सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीहरूले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका हुन् । बामपन्थी दलका यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझाबका रुपमा प्रस्तुत [&hellip;]</p>

काठमाडौं । बामपन्थी यातायात व्यवसायीहरु सिन्डिकेटको आन्दोलनबाट पछि हटेका छन् । सरकारले सिन्डिकेट विरुद्ध कडा कदम चालेपछि यातायात व्यवसायीहरूले वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको बताएका हुन् ।

बामपन्थी दलका यातायात व्यवसायीहरुको छाता संगठनहरु गणतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले संयुक्त पत्रकार सम्मेलन गरेर १३ बुँदे मागलाई सुझाबका रुपमा प्रस्तुत गर्दै सहमतिका आधारमा समस्या समाधानको बाटो खोज्न सरकारलाई आग्रह गरेका हुन् ।

बुधबार रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा यातायात व्यवसायभित्र भएका नराम्रा पक्षहरु सुधार गर्न आफूहरु तयार रहेको बताउँदै व्यवसायीहरुले सरकारसँग वार्तामा बस्न तयार रहेको बताए ।

“वर्तमान अवस्थामा देखिएको यातायात क्षेत्रका समस्या समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यू, विभागीय मन्त्रीहरु, विभिन्न पार्टीका आदरणीय पार्टी अध्यक्षज्यूहरु यथासिघ्र वार्ताबाट समस्या समाधानको लागि आवश्यक पहल गरी पाउन अपिल गर्न चाहन्छौँ ।” संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

“आफूहरु यातायात क्षेत्रको सिन्डिकेटको विरोधी नै भएको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, हामी हरेक क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गरी लामो समयदेखि पेशा, व्यवसाय गर्दै आएका व्यवसायी, मजदुर, कर्मचारीको संरक्षण गर्दै आधुनिक नेपाल निर्माणमा हातेमालो गर्दै यस संगठन तयार रहेको जानकारी गराउँदछौँ ।” विज्ञप्तिमा भनिएको छ ।

सरकारले यातायात व्यवसायी संघ संस्थालाई असार मसान्तपश्चात नविकरण नगर्ने निर्णय गरेको हुँदा उक्त अवधिभित्र नविकरणको व्यवस्था मिलाउने माग १३ बुँदे सुझाबको पहिलो नम्बरमा समेटिएको छ ।

संयुक्त विज्ञप्तिमा यातायात प्राधिकरण गठन गरी दर्ता प्रक्रियामार्फत संचालन गराउन पनि सुझाब दिइएको छ । त्यसैगरी सर्वपक्षीय आयोग गठन गरेर समस्या समाधानको बाटो खोज्न व्यवसायीले सुझाब दिएका छन् ।

गत चैत १८ गते यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकाका केही बुदाहरु ऐन नियमसँग बाझिएको हुँदा निर्देशिका नै खारेज गर्न व्यवसायीले माग गरेका छन् ।

सार्वजनिक यातायातका साधनहरु स्वस्थ प्रतिस्पर्धाका आधारमा संचालन गर्ने व्यवस्था, यातायात क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिइनुपर्ने, असिमित बिमा नीति लागुगर्नुपर्ने, २० वर्ष पुराना सवारी सधान विस्थापन गर्ने निर्णय सच्याउने, सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने लगायतका माग संयुक्त रुपमा पेश गरिएको छ ।

१३ बुँदे माग पूरा गर्न र समस्या समाधानको बाटो खोज्नका लागि तत्काल आफूहरुलाई वार्तामा बोलाउन दुई संगठनले सरकारलाई अनुरोध गरेका छन् ।

माग पूरा नभए नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनले गर्ने भनेको आन्दोलनलाई आफूहरुले समर्थन गर्ने गणतान्त्रिक यातायात व्यवसायी संगठनका महासचिव डोलनाथ खनालले बताएका छन् ।

गणतान्त्रिककै संयोजनक दधिराम खरेलले सरकारले बेलैमा समस्या समाधानको बाटो खोज्न सके कोही व्यवसायी पनि आन्दोलनमा जानु नपर्ने बताए । “सरकार एकलौटी ढंगले अगाडि बढ्यो भने आन्दोलन हुन सक्छ ।” खरेलले भने ।

प्रदेश नम्बर एकका प्रदेश सासंद तथा यातायात व्यवसायी श्रीप्रसाद मैनालीले भने सरकारको विरोधमा बन्द हड्ताल गर्न नहुनेमा जोड दिए । सत्तापक्षीय सासंद मैनाललीले भने, “हामी बन्द हड्तालमा जानु हुँदैन । सरकारले हाम्रा माग पूरा गर्छ भन्नेमा म विश्वस्त छु ।”

यसअघि नेपाल यतायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायत ५ व्यवसायीहरु आन्दोलनरत रहेका छन् ।

Share News