चितवन, १४ वैशाख । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य ३१ करोड ५२ लाख ६ हजार १८१ रुपैयाँ बढेको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा २ अर्ब ८८ करोड ७० लाख १४ हजार २१० रुपैयाँमा ठेक्का दिइएकोमा लागत मूल्य बढेसँगै ३ अर्ब २० करोड २२ लाख रुपैयाँ पुगेको छ ।
खनालका अनुसार तीन भागमा विभाजन गरेर ठेक्का दिइएको उक्त सडकखण्डको पहिलो खण्डको करीब ६० करोड ६१ लाखबाट बढेर ६८ करोड ९७ लाख रुपैयाँ पुगेको छ । खण्ड खमा करीब ९७ करोड ६७ लाखबाट वृद्धि भएर १ अर्ब १० करोड र खण्ड गमा सबैभन्दा बढी १ अर्ब ३० करोडबाट बढेर १ अर्ब ४१ अर्ब पुगेको खनालले बताए ।
एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इञ्जिनीयर पुष्कर रेग्मीका अनुसार थपिएको भित्तो कटाइ, पहिरो पन्छाइ, पर्खाल लगाउने काम, बोलपत्रभन्दा स्तरीय नाली निर्माण र कालोपत्र थप फराकिलो बनाउनेजस्ता काममा खर्च थपिएको हो ।
लागत मूल्य बढेसँगै प्रगति प्रतिशत भने घटेको छ । हालसम्म सडकको ८० प्रतिशत मात्रै सम्पन्न भएको देखिन्छ । यसअघिको कूल लागत मूल्यका आधारमा ९० प्रतिशत काम भए पनि लागत मूल्य बढेपछि प्रगति प्रतिशत घटेको हो । हालसम्म पहिलो खण्ड ७९.७५ , दोस्रो खण्ड ९१ र तेस्रो खण्ड ७७.८ प्रतिशत काम सम्पन्न भएको छ । ३३.२ किमीको उक्त सडकखण्डको हालसम्म ३० किमी कालोपत्रे भइसकेको छ ।
सो सडकको नारायणगढबाट १६ किमीसम्म ११ मिटर फराकिलो कालोपत्रे गरिँदैछ भने त्यसउता नौ मिटर फराकिलो हुँदैछ । विसं २०७२ वैशाखतिर २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस