
काठमाडौं । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले गैरसरकारी संस्था (आईएनजीओ र एनजीओ) को कारोबारमा कर लगाउन सुझाएका छन् । राजश्व चुहावट उच्चस्तरिय अनुगमन समितिको मंगलबार अर्थमन्त्रालयमा बसेको बैठकमा बोल्दै सचिव राइले नाफा नकमाउने रुपमा दर्ता भएका सबै गैरसरकारी संस्थाको कारोबारलाई आय करको दायरामा ल्याउन सुझाएका हुन् ।
उनले मदिरा बिक्री वितरणलाईै अझ व्यवस्थित बनाउन, आयकर, अन्तशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) को चुहावट नियन्त्रण गर्न आजैदेखि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा राजश्वसचिव शिशीरकुमार ढुङानाले अन्तशुल्कतर्फ नक्कली स्टीकरको थप अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याइने बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयूक्त गस्ती टोलीलाई एकै स्थानमा लामो समयसम्म खटाउन नुहने बताएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडा र सचिव राजन खनालले पनि चुहावट नियन्त्रण गर्न निर्देशन दिएका थिए ।