काठमाडौं । चालु आर्थि वर्षमा नेपालको आर्थिक वृद्धि घटेर ४.९ प्रतिशतमा सीमित हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) ले बुधबार चालु आर्थिक वर्षको परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धिमा गिरावट आउने प्रक्षेपण गरेको हो ।
गत आवमा नेपालको आर्थिक वृद्धि ६.९ प्रतिशत रहेकोमा यो वर्ष घटेर ५ प्रतिशत भन्दा कम हुने एडीबीको आँंकलन छ । सरकारले ७.२ प्रतिशत वृद्धि लक्ष्य लिएकोमा पुरा हुने नदेखेपछि मध्यावधि मूल्याँकनमा ६ प्रतिशत मात्र हुने अनुमान गरेको छ । एडीबीले सरकारले गरेको भन्द कम वृद्धि हुने जानकारी दिएको छ ।
कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा एक तिहाइ अंश रहेको कृषि र औद्योगिक क्षेत्रमा मन्दी आउने भएपछि समग्र आर्थिक क्षेत्रको वृद्धि घट्ने एडीबीका अर्थशास्त्री मानवरसिंह खड्काले बताए । गत साउनमा तराइमा आएको बाढी र त्यसपछिको डुवानले धान उत्पादन १.५ प्रतिशतले कमी आउने उनको भनाई छ ।
उत्पादन उपक्षेत्रमा लगानी घटेकाले औद्योगिक वृद्धिदर कम हुने खड्काले जानकारी दिए । यद्यपी थोक तथा खुद्रा व्यापार विस्तार, वित्तीय मध्यस्थता र पर्यटन जस्ता उपक्षेत्रमा भएको वृद्धिले सेवा क्षेत्र उत्साहजनक रहेको एडीबीको भनाई छ ।
यस्तै चालु आवमा मूल्यवृद्धि साढे ४ प्रतिशत हुने छ । अर्को वर्ष बढेर साढे ५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । यो मूल्यवृद्धि दर केन्द्रीय बैंकले निर्धारण गरेको भन्दा कम हो । केन्द्रीय बैंकले मूल्यवृद्धि ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ ।
यस्तै सरकारी खर्चमा र लगानीमा भएको सुधारले चालु आवको आर्थिक वृद्धिलाई उकास्ने एडीबीको ठहर छ । यस्तै आगामी आव ०७५÷०७६ मा आर्थिक वृद्धि साढे ५ प्रतिशत हुने अनुमान एडीबीको छ । यो वृद्धि मनसुन र ठुला आयोजनामा हुने प्रगतिले निर्भर गर्ने एडीबीको ठहर छ ।