काठमाडौं । सरकारी ढुकुटी रित्तिएपछि अर्थ मन्त्रालय र राजश्व प्रशासन कर असुलीतर्फ अाक्रामक रूपमा अगाडि बढेकाे छ । डा युवराज खतिवडा अर्थमन्त्री लगत्तै भन्सार नाकामा कडार्इ गरेकाे अर्थ मन्त्रालयले बाँकी बक्याैता असुलीलार्इ पनि जाेड दिएकाे छ ।
अर्थमन्त्री खतिवडाले अब राजश्व प्रशासन इमान्दार बन्ने बताउँदै व्यवसायीलार्इ पनि इमान्दार बन्न अाग्रह गरेका छन् । सरकारले ३० जना सचिव सरूवा गर्दा मन्त्री खतिवडाले राजश्व प्रशासनमा लामाे समय काम गरेका अनुभवी सचिवहरू राजन खनाल र शिशिर ढुंगानालार्इ अर्थ मन्त्रालयमा राखेकाे छन् ।
मंगलबार आन्तरिक राजस्व कार्यालय क्षेत्र न २ ले मुल्य अभिवृद्धि कर, अाय कर लगायतका कर बक्याैता रहेका २५ ठूला संस्था तथा व्यक्तिरहित ३३६ कम्पनीलार्इ बाँकी बक्याैता तिर्न सावर्जनिक सूचना प्रकाशित गरेकाे छ । आयकर र मुल्य अभिवृद्धि कर नर्तिने ३३६ वटा कम्पनीलाई कर तिर्न पत्र र टेलिफोन गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि राजस्व कार्यलयले सार्वजनिक सूचना प्रकाशित गरेकाे उक्त कर कार्यालयका कर अधिकृत कपिल नेपालले बताए ।
‘३३६ वटै कम्पनीले बक्यौता रकम तिरेका छैनन, १५ दिन भित्र कर तिर्न कम्पनीहरुलाई समय दिएका छौं, यदि तिरिसकेको अवस्था छ भने सोको प्रमाणपत्र समेत तोकिएको मितिमा कार्यालमा पेश गर्नुपर्छ’, अधिकृत नेपालले विकासन्युजसँग भने ।
समय अवधि भित्र नतिर्नेलाई कानूनी प्रक्रिया अघि बढ्ने उनले बताए । कर नतिरेमा कर नतिर्ने कम्पनीहरुलाई बैंक खाता बन्द गर्ने, आयात निर्यातमा रोक लगाउने, कम्पनीको नाममा रहेको जिन्सी सामाग्री लिलामी गर्ने तयारी कर कार्यालयले गरेकाे उनले बताए ।
कर नर्तिनेहरुमा खाद्य संस्थान, चीनीयाँ हाइड्रो कर्पोरेशन, एनजेएस कन्सल्टायन्टस, शर्मा युनाइटेड विल्डर्स, दिवा निर्माण जेभी लगायत ३३६ वटा कम्पनी रहेको छ । त्यसमा चर्चित व्यवसायीहरू अरुण कुमार चौंधरी, राहुल अग्रवाल,ओम बहादुर राजभण्डारी, सुकुन्त लाल हिराचन, किरण कुमार मुडभरी, मेघा अग्रवाल, सुभेन्द्र कुमार राजभण्डारी, भवानीराज पाण्डे, प्रकाश रुद्र श्रेष्ठ, संजिव गोयल, लाल बहादुर तामाङ, भुवनेश्वर पन्त, किसुन ध्वज कार्की, शिवेक अग्रवाल, सुनिता बोहरा, भवानी तुलाधर, महेश कमार गुप्ता, रजनी तुलाधर, मशमविर प्रसाद अग्रवाल, विवेक शर्मा, नरेन्द्र कुमार श्रेष्ठ, देवी बहादुर श्रेष्ठ, श्रीराज सिंह शहर्जन, संजय चमडिया लगायतकाे नाम सार्वजनिक गरिएकाे छ ।
यसमध्ये खाद्य संथानले १५ करोड आयकर तिरेको छैन भने चीनीयाँ सिनोहाइड्रो कम्पनीले १५ लाख मुल्य अभिवृद्धि कर तिरेको छैन । ३३६ वटा कम्पनीबाट अर्बौ रकम उठन बाकीँ रहेको राजस्व कार्यालयले जनाएको छ ।