काठमाडौं । जग्गा मुआब्जाको विषयलाई लिएर स्थानीयबासिन्दाले अवरोध गरेपछि प्रस्तावित १०२ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजनाको विस्तृत अध्ययनको काम रोकिएको छ ।
नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेडमार्फत निर्माण अघि बढाएको सो आयोजनामा जग्गाको मुआब्जाको विषयमा कुरा नमिलेपछि स्थानीयबासिन्दाले परामर्शदाता ल्याह्मेयर इन्टरनेसनलाई विस्तृत अध्ययनको काम अघि बढाउन दिएका छैनन् ।
स्थानीयको अवरोध भएपछि ल्याह्मेयरले काम गर्न पाएको छैन् । विद्युत प्राधिकरणले नै स्थानीय समस्या समधान गर्न ढिलाइ गरेको छ । आयोजनामा अवरोध आएको अयोजना प्रमुख नसिवमान प्रधानले बताए । उनले जग्गा विवादको काम मिलाउन लागि परेको बताए । उनले ५ महिनामा डीपीआर तयारी भई निर्माणका लागि बोलपत्र डकुमेन्टको काम सुरु हुने जानकारी दिए ।
परामर्शदाताले भुगर्भको बारेमा जानकारी लिनका लागि खन्नुपर्ने १७० मिटर अडिट सुरुङको काम पनि प्रभावित भएको छ ।
यता विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले स्थानीयकासिन्दाको अवरोधले आयोजनाको अध्ययन रोकिएको बताउदै सहमतिको प्रयास गरिने बताए । “म यो समस्याको समधान गरिदिने थिए, तर आयोजना सम्बद्ध कसैले पनि भन्न आएको छैन” उनले भने उनीहरु नआएसम्म मैले कसरी मिलाउने ?”उनले स्थानीको समस्या चाँडै समधान हुने प्रतिवद्धता जनाए ।
९६ मेगावाट जडित क्षमताको आयोजनामा ५ मेगावाटको क्याप्टिभ प्लाण्ट जडान गरेर १०२ मेगावाट पुर्याइएको छ । निर्माणधिन माथिल्लो तामाकोसी आयोजनाको पानी टेलेरेसबाट सिधै सुरुङमा लैजाने योजना छ । आयोजनामा बाँध बनाउनु पर्दैन ।
आगामी वर्ष सुरु गरी सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य रहेको प्रधानले सुनाए । आयोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ । आयोजनामा अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले पनि सेयर लगानी गर्ने भएको छ ।
आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउने काम भइरहेको प्रधानले जानकारी दिए । उनकाअनुसार जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलगायत विभिन्न बैंकसंग छलफल भइरहेको उनले बताए ।