काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) आइतबार बाँडफाँड भएको छ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र ऋणदाता सञ्चय कोषका कर्मचारीका लागि आईपीओ निष्कासन गरिएको थियो । रसुवागढीमा सञ्चयकर्ताले न्युनतम ५० र अधिकतम ८० कित्ता सेयर पाएका छन् ।
सान्जेनमा न्यूनतम ३० र अधिकतम ४० कित्ता सेयर पाएका छन् । रसुवागढीमा संस्थापक तथा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम २८० कित्ता पाएका छन् । सान्जेनमा न्यूनतम ५० र अधिकतम १५० कित्ता सेयर पाएका हुन् ।
रसुवागढीको सेयर किन्न आवेदन दिएका १ लाख ८८ हजार ९६३ सञ्चयकर्तामध्ये १ लाख ८७ हजार ८७८ आवेदकले सेयर पाएका छन् । यसैगरी सान्जेनमा आवेदन दिने १ लाख ८५ हजार ३५ सबै आवेदकले पाएका छन् । रसुवागढीमा आवेदन दिएका ८ हजार ९८६ कर्मचारीमध्ये ८ हजार ९६४ आवेदकले सेयर पाएका छन् । सान्जेनमा आवेदन दिने ८ हजार ९६० आवेदकले सेयर पाएका छन् ।
स्वीकृत आवेदकमध्ये ५० देखि ७० कित्तासम्म शेयर माग गर्ने सबैलाई मागअनुसार सेयर दिइएको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले जानकारी दिए ।
सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन खुला गरिएको थियो । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि चैत ५ देखि १३ गतेसम्म आवेदन खुला भएको थियो ।
रसुवागढीले सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता र सान्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो । रसुवागढीले कर्मचारीका लागि २३ लाख ९४ हजार ७३५ र सान्जेनले १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो ।
रसुवामा निर्माणाधीन दुवै आयोजनाको औसतमा ६५ प्रतिशत निर्माण सकिएको छ । सन् २०१८ को डिसेम्बरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको ती आयोजनाले सञ्चयकर्ता र संस्थागत लगानीकर्ता समूहमा रहेका शेयर लगानीकर्तालाई पहिलो चरणमा शेयर बिक्री गरेको हो ।