काठमाडौं । नेपालले पुनः सम्झौता (मेमोरेन्डम अफ कोअपरेशन ) मा चासो नदिएपछि जापानमा प्रशिक्षार्थी कामदार पठाउने अवसर गुम्ने भएको छ ।
जापानले प्रशिक्षार्थी कामदार पठाउनका लागि सम्झौता नविकरण आउदो असार अर्थात जुनसम्म समय दिएपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चासो नदेखाउदा कामदार जापान पठाउने अवसर रोकिने संभावना बढेको हो ।
सरकारलाई पटक पटक जानकारी गराउदा पनि ध्यान नदिएकाले नेपाली प्रशिक्षार्थीको अवसर गुम्ने अवस्था आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले बताए । नेपालले सम्झौता नविकरणमा ढिलाइ गरेपछि जापानले ६ महिना समय थपको उनले जानकारी दिए । समय थप गर्दा पनि सरकारले चासो नदेखाएको गुरुङको गुनासो रहेको छ ।
नेपालले सन् २००८ देखि वैदेशिक रोजगार व्यवसायीमार्फत जापानमा अभ्यासार्थी कामदार पठाउदै आएको छ । जापानमा कामदारको अभाव भएपछि करारमा रहेका स्रोत मुलुकका कामदारको समय ३ वर्षबाट बढाएर ५ वर्ष पुर्याएको गुृरुङले बताए । यसका बारेमा जापानले श्रम मन्त्रालयलाई पत्राचार समेत गरैको उनी बताउछन् ।
जापानले वृद्धाको स्याहरसुसारका लागि (केयरगिभर) , कृषि, निर्माण र अतिथिसत्कार जस्ता क्षेत्रमा कामदारको माग पुरा गर्न जापानले समय थप गरेको उनको भनाई छ । जापानमा २५ लाख बढी वृद्धा छन् ।
विकासोन्मुख मुलुकले जापानको प्रविधि र सीप सिकेर त्यसको उपयोगबाट फाइदा लिन सकोस भनेर जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) प्रणालीअनुसार स्रोत मुलुकबाट कामदार आपूर्ति गर्दै आएको छ ।
जापानमा प्रशिक्षार्थि कामदारको रुपमा १५ नेपालीले काम गरिरहेका छन् । यता कोरियामा जस्तै दुबै देशका सरकारबीच सम्झौता भएर कामदार पठाउने तयारी भएको आफुले जानकारी पाएको उनले बताए ।