काठमाडौं । प्रदेश नम्बर २ का जिल्लामा यस वर्ष लगाइएको मकैका घोगामा दाना नलागेको किसानहरूले बताएका छन्। सयौँ बिघा जग्गामा लगाइएको मकैका घोगामा दाना नलागेपछि लगानी पनि उठ्न नसक्ने देखिएकोले उनीहरूले सरकारसंग उचित क्षतिपूर्तिको माग गरेका छन्।
पर्सा, बारा, रौतहट, सर्लाही लगायत जिल्लाका किसानले लगाएको उन्नत जातको मकैको घोगामा दाना नलागेपछि उनीहरू चिन्तित बनेका हुन्।हेर्दा मकैको बोट र घोगा राम्रो देखिए पनि दाना नलागेको किसानहरू बताउँछन्।
कार्तिकभन्दा पहिले लगाइएको मकैका घोगामा दाना नलागेपछि किसानहरूले बोट नै उखेलेर फाल्नुपरेको सर्लाहीका वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले बताए। उनले भने, धेरै किसानले हिउँदे मकैका घोगामा दाना नलागेको बताएका छन्। दाना नलागेपछि बाली नै काटेर फाल्नुपर्ने अवस्था आएको छ ।
प्रत्येक वर्ष सरकारले जानकारी दिए अनुसारकै सूचीकृत बीउ लगाउने गरेकोमा यस वर्ष पनि सिफारिश गरिएकै बीउ रोपेको किसानहरू बताउँछन्। सरकारले बीउ बेच्ने जथाभावी अनुमति दिएका कारण नोक्सानी बेहोर्नुपरेको किसानहरूको आरोप छ।
ऋण लिए रोपेको मकैका घोगामा दाना नलागेपछि आर्थिक संकटमा परेको बताउँदै बारा सिमराका किसान ऋषि सापकोटा आफू उचित राहतको आशामा बसेको बताउँछन्।उनी भन्छन्, ऋण लिएर बाली लगाइयो, अब ऋण चाहिँ कसरी तिर्ने होला ? सरकारबाट केही सहयोग पाइन्छ कि भन्ने आशा छ ।
बारामा १३ हजार ६ सय हेक्टरमा मकै खेती गरिएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ। जिल्ला कृषि विकास कार्यालय बाराका प्रमुख शिवरत्न साह किसानहरूले बाली बीमा गराउने बानी बसाले क्षतिपर्ति पाउनुका साथै उनीहरूलाई क्षतिका कारण तनाव पनि नहुने बताउँछन्।
मौसमको प्रतिकूलताका कारण मकै बालीमा समस्या देखिएको कृषि प्राविधिकहरूले बताएका छन्। मकैमा दाना नलागेपछि किसानहरूले भोग्नुपरेको समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको प्रदेश नं। २ का कृषिमन्त्री शैलेन्द साहले भने, ूकेन्द्रबाट आएको टोली निरीक्षण गरेर फर्किसकेको छ। किसानहरूलाई उचित क्षतिपूर्ति दिलाउन हामी पहल गर्छौँ।
किसानहरूले सिफारिश गरिएका उन्नत जातका मकैबा बीउ रोपेको बताए पनि बारामा ४ हजार हेक्टरभन्दा बढी क्षेत्रफलको मकै खेती नष्ट भएको जनाइएको छ।
त्यस्तै सर्लाहीमा ११ हजार २८० हेक्टरमा मकै खेती गरीएकोमा ५० देखि ५५ प्रतिशतसम्म बाली नष्ट भएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ।बाँकी जिल्लाहरूमा पनि मकैमा दाना नलागेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको अधिकारीहरूले बताएका छन्।
स्रोतः बीबीसी