काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समयमा मुलुको समग्र अर्थतन्त्र आयातमुखी भएको बताएका छन् । मुलुकको आर्थिक अवस्थाका बारेमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आयातले अर्थतन्त्रलाई भयावह अवस्थामा पुर्याएको जानकारी गराएका छन् ।
उत्पादन संरचना नै आयातमुखी हुनु र रेमिट्यान्स आप्रवाहले अर्थतन्त्रलाई बढी उपभोगमुखी बनाउदा आयात बढेको उनले जानकारी दिएका हुन् । युवा जनशक्ति वैदेशिक रोजगारीमा आश्रित हुनुपर्ने वाध्यताले आन्तरिक उत्पादन र उत्पादकत्वमा भारी गिरावट आउदा आयात बढेको अर्थमन्त्रीको ठहर छ ।
खाद्यान्न, लताकपडा, विलासिताका वस्तु, औषधी र इन्धनलगायत अत्यावश्यक वस्तु आयातमा निर्भर रहेको उनले जानकारी दिए । ५ वर्षयता इन्धन १५ र खाद्यन्न आयात १४, सवारीसाधा र सोको पाटपुर्जाको १२ र सुनचाँदीको हिस्सा ५ प्रतिशत रहेको उनले बताए । यस्तै पछिल्लो समयमा विद्युत आयात बढेर हिस्सा १ प्रतिशत पुगेको छ ।
नेपालमै उत्पादन हुने आधाभुत खाद्यवस्तुको आयात बढ्दै जानु चिन्ताको विषय भएको उनले बताएका छन् । चालु आर्थिक वर्षको ७ महिनामा १७ अर्बको चामल, १३ अर्बको खानेतेल , ७ अर्बको तरकारी र ३ अर्ब रुपैयाँको फलफुल आयात भएको छ ।