काठमाडौं । मुलुकलाई आत्म निर्भर बनाउने भाषण गर्दै आएका प्रधानमन्त्री केपी ओलीले १५ बर्षसम्म नेपालको पेट्रोलियम बजारमा भारतीय एकाधिकार स्विकार गर्ने भएका छन् । ओलीले आफ्नै पुर्व घोषणा विपरिद १५ बर्षसम्म भारतसँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सर्तसहित निर्माण हुने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्न लागेका हुन् ।
केहि समयपछि हुने भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइनको संयुक्त शिलान्यास गराउने तयारी भैरहेको छ । ‘प्रधानमन्त्रीज्युको भारत भ्रमणका क्रममा पाइपलाइनको संयुक्त शिलान्यास गराउने तयारी भैरहेको छ’, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले भने । उनले विश्व व्यापार संगठन (डब्ल्युटीओ)को मन्त्रीस्तरीय बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्कने क्रममा सो तथ्य उजागर गराएका थिए ।
नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म बिछ्याइने पेट्रोलियम पाइपलाइन सिलन्यास गर्ने अवस्थामा पुगिसकेको बताए । ‘अवश्यक इक्वीप्मेन्टहरु आइसकेको छ,’ उनले भने ‘अहिलेसम्म्म ३६ किलोमिटर पाइप भित्रिसकेको छ, हामी प्रधानमन्त्रीबाटै शिलान्यास गराउने सोँचमा छौं ।’
उनले २५/३० प्रतिशत इक्वीपमेन्ट आइसकेको जानकारी पनि दिए । वर्तमान प्रधानमन्त्री ओलीले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन पुर्व मंसिर ४ गते नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा १५ इण्डियन आयल कर्पाेरेशनबाट मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सम्झौता मान्य नहुने घोषणा गरेका थिए ।
२०१५ अगष्ट २४ मा नेपाल र भारतबीचमा रक्सौल अमलेखगञ्ज पाइपलाइन विच्छ्याउने सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनाका लागि २ अर्ब ७५ करोड भारु लाग्ने बताइएको थियो ।