काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आर्थिक समृद्धि र विकास अहिलेको मुलुकको आवश्यकता रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा भएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसँगकाे भेटघाट कार्यक्रममा थापाले यसका लागि चेम्वरको सहयोगको अपेक्षा गरेका छन् ।

मुलुकलाई समृद्ध बनाउने दिशातर्फ अगाडि बढ्न चेम्वरसँंग सहकार्य गरेर अगाडि बढ्ने उनले बताए । उनले उद्योगी र व्यावसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको बताएका छन् । नेपालमा लगानीको वातावरण सृजना गर्र्नेतर्फ मन्त्रालयले आवश्यक सबै सुरक्षाको वन्दोवस्त मिलाउने उनले बताए । मुलुकभित्रै प्रसस्त उद्योगधन्दा सञ्चालन गरी रोजगारीको सृजना गर्नेगरी औद्योगिक क्रान्ति आवश्यक रहेको उनको भनाई थियो । साथै, उनले कामका लागि दैनिक विदेश जाने नेपाली जनशक्तिलाई स्वदेशमै रोजगारीको बातावरण बनाउन स्वदेशमा लगानी तथा उद्योगधन्दा सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंको टाफिक जामको समस्या हटाउन मन्त्रालयले विशेष पहल थालेको जानकारी उनले बताए ।
भेटघाटमा चेम्वरका अध्यक्ष श्रेष्ठले उद्योग व्यवसायीको विविध क्षेत्रमा देखिएका समस्याबारे मन्त्री थापाको ध्यानाकर्षण गराएका छन् । उनले व्यापारीसँंग जवरजस्ती चन्दा, आर्थिक सहयोग माग्ने प्रवृति अन्त हुनुपर्ने भन्दै उनले ढुवानीमा हुने गरेको कार्टेलिंगलाई हटाउनुपर्ने आवश्यक रहेको बताए । नेपाल र चीन नाकामा हुने विविध समस्याहरुबारे विशेष ध्यानाकर्षण गराउँंदै उनंले ती क्षेत्रमा सहज आवागमन हुनुपर्ने बताएका छन् ।
श्रेष्ठले आवश्यक भन्दा वढी सार्वजनिक बिदाले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पारेको भन्दै उनले विदा कटौती गर्नुपर्ने, सार्वजनिक विदामा पनि बैंक तथा वितीय संस्थाहरु सुचारु हुनुपर्ने आवश्यकता औंल्याएका छन् । विभिन्न क्षेत्रबाट बजार अनुगमन हुँंदा व्यापारीलाई सास्ती हुने गरेको भन्दै उनले सहज रुपमा बजार अनुगमनको काम हुनुपर्ने बताएका छन् । साथै, २०३२/०३३ सालको कालोबजारी ऐन अहिलेसम्म पनि शंशोधन नभएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।