
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त यूएस बांग्ला विमानका प्रमुख चालक अबिद सुल्तानकी श्रीमतीको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको छ।
मार्च १२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बांग्ला विमान दुर्घटनाको खबर सुन्ने वित्तिकै बिरामी भएकी अफ्साना खानमको ढाकाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको निधन भएको अस्पतालका एक अधिकारीले बीबीसी बांग्लालाई बताएका छन्।
मोहम्मद सैफुल्लाहका अनुसार दुर्घटनाको खबर लगत्तै बिरामी भएकी अफ्साना खानमको ढाकास्थित न्याशनल इन्स्टिच्युट अफ न्यूरो साइन्सेजको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।
चिकित्सकहरूका अनुसार अफ्साना खानम सघन उपचार कक्षमा चिकित्सकहरूको निरीक्षणमा थिइन्।
यूएस बांग्ला विमानका मुख्य चालक अबिद सुल्तानको विमान दुर्घटना भएको एक दिनपछि काठमाण्डूको एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।
यूएस बांग्लामा काम गर्नुअघि उनी बांग्लादेशको एअर फोर्सका विमान चालक थिए। उनीहरूको १४ वर्षको एक छोरा छन्। श्रीमानको मृत्युको खबर आएपछि अफ्साना खानमलाई मस्तिष्कघात भएको थियो। स्रोत ः बीबीसी