काठमाडौं । ‘कर्णाली प्रदेशसँग भन्सार नाका छैन्, उद्योग पनि छैन्, नागरिकको समृद्धिको चाहना कसरी सम्बोधन गर्ने ?’, बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना गुनासो राखेर बाहिरिँदै गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीको भनाई हो यो ।

उनले यहि गुनासो प्रधानमन्त्री ओलीसँग राखेका थिए । ओलीलाई आफ्ना गुनासो राखेर बाहिरिएका मुख्यमन्त्री शाहीले नागरिकका चाहना सम्बोधन गर्न ठुलै चुनौती देखिएको बताए । ‘कर्णाली प्रदेश आफैंमा विकट थियो, हामीले थुप्रै प्रतिवद्धताहरु गरेका थियौं, ति पुरा गराउन आवश्यक सहयोग प्रधानमन्त्रीसँग मागियो’, मुख्यमन्त्री शाहीले भने ।
उनले सडक, पुर्वाधार, पोषण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै क्षेत्रमा कर्णाली प्रदेश पछि परेको बताउँदै बजेट बनाउँदा बिशेष महत्व दिन पनि ओलीलाई आग्रह गरेको जानकारी दिए । ‘हामी सबै ढंगले पछि परेका छौं, विकास र समृद्धिका लागि केन्द्र सरकारले बिशेष ढंगले व्यवहार गरोस्, महत्व देओस् भन्ने आग्रह गरेँ’, मुख्यमन्त्री शाहीले भने ।
उनले बजेट नभएको, कर्मचारी नभएको, पुर्वाधार नभएको कानुन नभएको गुनासो प्रधानमन्त्रीलाई सुनाएको पनि बताए ।