काठमाडौं । नागरिक लगानी कोषले २७ वर्षमा खुद मौज्दात १ खर्ब ४६ अर्ब पुर्याएको छ । विसं २०४७ साल चैत ४ गते स्थापना भएको कोषले वार्षिक मौज्दातमा २० प्रतिशत वृद्धि गरेको हो ।

नागरिक लगानी कोषले २८ औं वर्ष प्रवेशको अवसरमा सो तथ्यांक सार्वानिक गरेको हो । कोषले हाल ११ प्रकारका परियोजनाहरु सञ्चालन गर्दै आएका छन् । जसमा सरकारको ऋणपत्र, शेयर पुँजी, परियोजना कर्जा, ‘क’ श्रेणीका बैंकहरुमा निश्चित अवधिको मुद्धती निक्षेपमा लगानी इत्यादी रहेका छन् ।
कोषको अनुसार गत आर्थिक वर्षको पुष मसान्त सम्ममा कोषको रकम ८५ अर्ब २६ करोड रुपैंया रहेको थियो । जुन रकम ८.४७ प्रतिशत बढी हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको कर्मचारी बचत वृद्धि अवकास कोषमा ६९ अर्ब ४४ करोड ३० लाख रुपैंया जम्मा भएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ५७ अर्ब ४२ करोड ६६ लाख रुपैंया रहेको थियो ।
त्यसैगरी उपदानको योजनामा सञ्चित रकम १५ अर्ब १७ करोड ४१ लाख रुपैंया पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा १२ अर्ब ३५ करोड ५ लाख रुपैंया रहेको थियो ।
अन्य परियोजना अन्तर्गत लगानी कर्ताको हिसाबमा आव ०७३ ७४ को पुस मसान्तमा यो रकम २ अर्ब ८३ करोड ९६ लाख रहेकोमा चालू आवको पुस मसान्तसम्म ३ अर्ब ६३ करोड ६३ लाख रुपैंया रहेको छ ।
निजामती बिमातर्फ चालू आवको ६ महिने अवधिमा ४ अर्ब ७१ करोड ३३ लाख जम्मा भएको नागरिक लगानी कोषले जनाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा ४ अर्ब ३९ करोड ५० लाख रुपैंया रहेको थियो ।
यस्तै कोषले नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ८० करोड ९३ लाख रुपैंया लगानी गरेको छ । कोषले समकालिन कर्जामा ८ अर्ब ३८ करोड ९० लाख रुपैंया लगानी गरेको छ ।
कोषले कर्जातर्फ १५ अर्ब ११ करोड २ लाख रुपैंया लगानीमा गरेको छ । ७७ जिल्लाका ४८ हजार भन्दा बढी सरकारी एवंम गैरसरकारी संस्थाहरु मार्फत ६ लाख भन्दा बढी सेवाग्राहीहरुलाई कोषले सेवा दिइरहेको छ ।