काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा उपभोक्ता मूल्य बढेर ५ प्रतिशत पुगेको छ । गत आवकासे सोही अवधिमा यस्तो मुल्यवृद्धि ३.३ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य वस्तुहरूको मूल्यमा भएको वृद्धिका कारण
समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको हो । समीक्षा अवधिमा खाद्य मुद्रास्फीति ४ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेल लगायतका वस्तुहरूको मूल्यमा वृद्धि भएको कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।
यस्तै गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति ६.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा कम रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ५.६, हिमालमा ५.४, पहाडमा ५.१ र काठमाडौं उपत्यकामा ४ प्रतिशत छ ।