काँकडभिट्टा । झापामा जेठाजुले मृर्गौला दिएर बुहारीलाई बचाएका छन् । पत्रकार समेत रहेकी माया पकुवाललाई उनकै जेठाजु सौरभले मिर्गौला दिएका हुन् ।

पकुवाललाई सौरभले भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला दान गरेको परिवारले जनाएको छ ।
दश महिनाअघि रक्तचाप घटबढ भइरहने र ज्वरो आइरहने भएपछि पकुवाल उपचारका धरानस्थित बिपी मेमोरियल अस्पताल गएकी थिइन।
उपचारका क्रममा चिकित्सकले उनको दुवै मिर्गौला खराब भएको र प्रत्यारोपण गर्न सुझाव दिएपछि श्रेष्ठ परिवार कसले मिर्गौला दान दिने भन्नेबारेमा छलफलमा जुटेको थियो ।
सोही अवसरमा सौरभले आफ्नो मिर्गौला दान दिँदा मायाको स्वास्थ्य स्थिति राम्रो हुन्छ भने दिन आफू तयार रहेको बताएका थिए ।
मिर्गौलाको सफल प्रत्यारोपण भएको सौरभकी पत्नी करुणाले बताए। उनको अनुसार हाल दुवैको स्वास्थ्य सामान्य छ । झापामा २०६४ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनकै नाताले बुहारी पर्ने अञ्जान ओलीले मिर्गौला दान दिएकी थिइन् । रासस