काठमाडौं । सुर्खेतका स्थानीय तहमा तोकिएका बैंक नहुँदा यहाँका नागरिकलाई समस्या भएको छ ।

सिंहदरबारको अधिकार गाउँमा गएपनि बैंक नजाँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । सुर्खेतका आठवटा स्थानीय तहमध्ये चिङ्गगाड गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । स्थानीय तहमा हुने विकास लगायतका सम्पूर्ण कारोबार गर्न यहाँका नागरिक प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा आउने गरेका छन् ।
स्थानीय तहमा सरकारी कारोबार गर्ने बैंक नहुँदा यहाँका सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत प्रदेश राजधानी वीरेन्द्रनगर आउनुपर्ने बाध्यता रहेको छ । स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामै गएको छ । स्थानिय तहमा बैंक तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको छ ।
गाउँपालिकामा बैंक नहुँदा जनतालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको चिङ्गगाड गाउँपालिकाका सुर्खेतका उपाध्यक्ष मनमाया आचार्यले बताए ।
“अहिलेसम्म गाउँमा बैंकहरु गएका छैनन्, गाउँपालिकामा भएका विकास लगायतका कामको सम्पूर्ण कारोबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आएर गर्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । केही समय पहिला एनआइसी बैंकसँग गाउँपालिकामा जाने कुरा भयो पछि के कारणले हो जान नमानेको, उनले बताए ।।
“गाउँपालिकामा जाने सल्लाहबमोजिम हाललाई वीरेन्द्रनगरमा रहेको एनएमबी बैंकमा कारोबार भइरहेको छ अब यसै बैकलाई लिने पहल गरिरहेका छौँ”, उनले भने । गाउँपालिकामा बैंकको असुविधा भएपछि कर्मचारी र जनप्रतिनिधि अहिले पनि हप्तौँसम्म प्रदेश राजधानीमा आउनुपर्ने बाध्यता रहेको छ ।
गाउँमा बैंकहरु नजाँदा सामान्य आर्थिक कारोबारका लागि राजधानी धाउनुपर्ने बाध्यता भएको चिङ्गगाड गाँउपालिका–५ सुर्खेतका हर्क रानाले बताए ।
सरकारले नागरिकलाई दिने वृद्धभत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले बैंकलाई स्थानीय तहमा शाखा निर्देशनसमेत दिएको थियो । तर अहिलेसम्म बैंकको शाखा खोल्नुपर्ने स्थानहरुमा खोलिएका छैनन् ।-रासस