नारायणगढ–मुग्लिङ सडकमा पहिरो रोक्ने काम शुरु भएन, वर्षादमा पनि उच्च जोखिममा

<p>चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै सुरु हुन नसक्दा आउँदो वर्षाद समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ । नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ । [&hellip;]</p>

चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै सुरु हुन नसक्दा आउँदो वर्षाद समयसम्म काम सम्पन्न नभएमा पहिरोको उच्च जोखिम देखिएको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ ।

अन्य नौ ठाउँमा अहिलेको ठेक्काअन्तर्गत नै बायो–इन्जिनियरिङ हुनेछ भने बाँकी १९ ठाउँमा छुट्टै बजेटमार्फत काम गर्नुपर्ने खनालले बताए । ती ठाउँ पहिरोका दृष्टिले निकै जोखिमयुक्त छन् ।
सो सडकको जलविरेदेखि मुग्लिङसम्मको सात किलोमिटरको दूरीमा ८० प्रतिशत ठाउँ जोखिमयुक्त छ । चारकिलो, पाँचकिलो, कालीखोलाका तीन ठाउँ र चोरखोला पहिरोका दृष्टिले उच्च जोखिममा रहेको खनालले जानकारी दिए।

ती चट्टानयुक्त ठाउँमा जाली ठोकेर ग्यामिन मेटिङ, छुट्टिएका चट्टान जोड्ने (रकबोल्टिङ), झर्न लागेको चट्टानलाई पछाडि रहेको ठूलो चट्टानमा तारले बाँध्ने (रक एन्करिङ) र नाङ्गो डाँडामा रहेका साना ढुंगामा सिमेण्टको छिटो जम्ने घोला छर्ने सर्किट गर्नुपर्ने खनालले बताए । ठेक्काभन्दा बाहिरको काम भएकाले विभागले ठेक्का वा अरु प्रक्रियाबाट काम गराउने खनालले जनाए ।

सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले अहिले काम गरिरहेका ठेकेदारले बढी रकम माग गरेपछि काममा ढिलाइ भएको स्पष्टपारे। ठेक्का प्रक्रियाबाट समयमा काम सक्न नसकिने भएकाले त्यससम्बन्धी कामको दक्षता राख्नेहरुलाई सोझै कामको जिम्मा दिने तयारी भइरहेको उनको भनाईछ । चैत महिनाभित्रमा काम थालिने उनले बताए।

समयमा काम शुरु नभएकाले यस वर्षको वर्षात्मा पहिरोको उच्च जोखिम हुन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हालसम्म सो सडकको ७९.३ प्रतिशत काम सम्पन्न भएको छ । सो सडकको मुग्लिङतर्फको खण्डमा भित्तो काट्ने काम वर्षात्अघि नसकिने अवस्था एकातिर छ भने अर्कोतर्फ पहिरो रोक्न गर्नुपर्ने काम शुरु नहुँदा वर्षात्मा सडक जोखिमयुक्त बन्न सक्ने देखिएको छ ।

सडकको भित्तो काटिएका ठाउँमा जुटको जालीबाट पहिरो रोक्ने काम (जुटमेटिङ) भने शुरु भएको छ । सेती दोभान, घुमाउनेलगायतका क्षेत्रमा ठेकेदार कम्पनीले ठेक्काभित्रका ती काम भने शुरु गरेका छन । रासस

Share News