काठमाडौं । ३ नम्बर प्रदेशको अधिकांश सांसदहरु प्रदेश राजधानी हेटाैंडा अपाएक भएको भन्दै स्थान्तरण गर्ने पक्षमा उभिएका छन् । राजधानी स्थान्तरण हुने नै भएपछि यस प्रदेशमा रहेका १३ जिल्लाका ११० सभासदहरु आफूलाई पाएक पर्ने क्षेत्रमा राजधानी बनाउने दौडदूपमा लागेका छन् ।

यस प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल मकवानपुर जिल्ला कै सांसद हुन् । उनको व्यक्तिगत चाहाना राजधानी हेटौंडा नै रहोस् भन्ने छ । तर अधिकांश सांसद्ले राजधानी दवाव दिएपछि उनी पनि राजधानी सार्ने पक्षमा देखिएका छन् ।
प्रदेश सांसद केशब पाण्डेका अनुसार राजधानीको कुन ठाउँ उपयुक्त हुन्छ भनेर मुख्यमन्त्री पौडेलले अध्यायन र परामर्श गरिरहेका छन् ।
‘राजधानीको लागि उपयुक्त स्थानको खोजी गर्ने क्रममा हालै मुख्य मन्त्रीले नुवाकोटको भ्रमण गर्नु भएको छ । भूगोल, भौतिक पूर्वाधार, स्रोत साधानको बारेमा जानकारी लिनु भएको छ’ पाण्डेले भने–‘पहिला प्रदेश राजधानी नुवाकोटमा राख्ने पक्षमा उहाँ त्यति सकारात्मक हुनुहुन्न थियो, अध्यायन भ्रमणपछि उहाँ सकारात्मक हुनु भएको छ’ पाण्डेले भने ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ३ नम्बर प्रदेशको राजधानी नुवाकोट बनाउने पक्षमा भएको पाण्डेले बताए । आइतबार नुवाकोटका पत्रकारहरुसँगको अन्तरक्रियामा उनले भने–‘‘नुवाकोटका जनप्रतिनिधिको हैसियतमा हामीले प्रधानमन्त्रीलाई भेटेर ३ नम्बर प्रदेशका राजधानी नुवाकोटमा राख्दा उपयुक्त हुने बताएका छौं । त्यसको आधारहरु पनि प्रस्तुत गरेका छौं । उहाँले पनि ‘प्रदेश राजधानी कि नुवाकोटमा कि काभ्रेमा राखिन्छ, काठमाडौं, भक्तपुर र ललितपुरमा हुन्न’ भन्नु भएको छ ।’’
यस प्रदेशमा नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्दुपाल्चोक, दोलका, रामेछाप र सिन्धुली जिल्लाहरु छन् ।
‘नुवाकोट वा काभ्रे मध्ये एक जिल्लामा राजधानी राख्ने विषयमा बहस केन्द्रीत भएको छ । मतविभाजन हुँदा नुवाकोटको पक्षमा रसुवा, धादिङ, चितवन र मकवानपुर हुनेछन् । काभ्रेको पक्षमा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली हुनेछन्’ पाण्डेले भने ‘निर्णयक मत काठमाडौं हो । हामी काठमाडौंलाई विश्वासमा लिने प्रयासमा छौं ।’
निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार यस प्रदेशमा ६६ र समानुपातिकबाट ४४ गरी ११० जना प्रदेश सांसद् छन् । काठमाडौं उपत्यकाका ३ जिल्लाका मात्र ५२ जना सांसद छन् ।
भूगोलको हिसावले १३ जिल्ला मध्ये करिब मध्य भागमा रहेको, काठमाडौं–छहरे– विदुर, काठमाडौं–ककनी–विदुर, गल्छी–विदुर, मध्यपहाडी राजमार्ग गरी ठूला चार सडकले नुवाकोट जोडेको, समथर जमिन प्रयाप्त भएको, तत्काल प्रदेश राजधानी सञ्चालन गर्न सुविधा सम्पन्न सरकारी भवनहरु रहेको, प्रयाप्त पानीको स्रोत भएको, मध्यमखालको हावापानी रहेकोले नुवाकोटमा राजधानी राख्न उपयुक्त हुने सांसद बद्री मैनालीले बताउँछन् ।
नुवाकोटमा प्रदेश राजधानी राख्न लविङ गर्दै यस जिल्लाका जनप्रतिनिधिहरु, नुवाकोट सरोकार समाज र नुवाकोटका अगुवाहरु यतिबेला निकै सक्रिय भएका छन् ।