रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा सेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्रालीका प्रमुख टेकराज भट्टराइले जानकारी दिए।
“हामीले शेयर साक्षरता र काउन्सिलिङको क्षेत्रमा नै धेरै काम ग¥र्यौं”, उनले भने। शेयर बजारमा कारोबार गर्न रुपन्देहीका विभिन्न गाउँपालिका र नगरपालिकाबाहेक प्रदेश नं ५ को परासी, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायतका स्थानबाट बुटवलमा रहेका विभिन्न ब्रोकर कार्यालयमा सेयर लगानीकर्ताको भीड लाग्ने गरेको छ ।
भट्टराईले सेयर बजारमा महिला सहभागिता पनि उल्लेख्य भएको जानकारी दिँदै वाणिज्य बैंक र इन्स्योरेन्सको सेयर खरिदमा लगानीकर्ताको चाप बढी भएको बताए ।
“सुधारको अवस्थामा रहेको अहिलेको बजार कता जान्छ भन्नसक्ने अवस्था छैन तर दुई दिनको परिसूचँकले सकारात्मक बाटो लिएको छ”, उनले भने।
भट्टराईले दीर्घकालीनरुपमा लगानी गर्नेलाई अहिलेको बजारको समय सदुपयोग गर्न आग्रह गर्दै सेयर लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताए ।
बैंकको ब्याज दर र लगानीयोग्य पुँजीको अभावले गर्दा ब्याजदर बढेपछि यसको असर सेयर बजार प्रभावित भएको अनुमान गर्दै उनले नयाँ लगानीकर्तालाई बुझेरमात्रै लगानी गर्न अनुरोध गरेका छौं भने।
बुटवलमा आर्यनतारा इन्भेष्टमेन्ट दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज प्राली, लिन्च सेक्युरिटिज, एसियन सेक्युरिटी, मिडास सेक्युरिटिजी ब्रोकर कार्यालयले पनि सेयर खरिद तथा बिक्रीको काम गर्दै आएका छन् । रासस