काठमाडौं । नेकपा(एमाले)ले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै पुनः राष्ट्रपति बनाउने निर्णय गरेको छ । मंगलबार मध्यरातमा सम्पन्न एमाले स्थायी कमिटी बैठकले भण्डारीलाई दोश्रो कार्यकालका लागि पुनः राष्ट्रपति बनाउने निर्णय गरेको हो ।
पार्टी बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै भण्डारीले शितल निवासको दोश्रो इनिङ पक्का गरेकी हुन् । खनाल यस अघि पनि राष्ट्रपतिका आकांक्षी थिए । आजै राष्ट्रपतिका लागि भणडरीको मनोनयन दर्ता हुनेछ भने २९ गते निर्वाचन हुनेछ ।
भण्डारी २०७२ साल कात्तिक ११ गते राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
मध्यरातमा के के भयो बालुवाटारमा ?
राष्ट्रपतिको उम्मेदवार छान्न प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार ४ बजेका लागि स्थायी कमिटीको बैठक डाकिएको थियो । तर बैठक भने ढिलो गरि ६ बजे मात्रै सुरु भयो । भण्डारीलाई राष्ट्रपति बनाउने ओली पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र घनश्याम भुषालले असहमति जनाए । त्यसपछि बैठक लम्बियो । पटक पटक बिभिन्न कोणबाट सहमतिको प्रयास भयो ।
भ्mलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका बामदेव गौतम मौन बसे । माधव नेपाल, गोकर्ण विष्ट र योगेश भट्टराईहले मध्यमार्गी धारणा राखे । त्यसपछि झलनाथ खनालले आफ्नो पक्षमा सहमति नहुने बुझेपछि स्थायी कमिटीमा निर्वाचन गराउने मनसाय व्यक्त गरेका थिए ।
तर बामदेव गौतमले नै साथ छाडेपछि स्थायी कमिटीमै अल्पमतमा पुगेको देखेपछि उनी पछि हटे र विद्या भण्डारीको शितल निवासमा दोश्रो इनिङ पक्का भयो । ‘पटक पटक छलफल भयो तर सहमति जुटेन, स्थायी कमिटीमै चुनाव गराउन खोज्दा पनि बामदेव गौतम लगायतले साथ छाडेपछि अल्पमतमा परिने स्पष्टै थियो, त्यसैले जेएन कमरेड पछि हट्नुभयो’, एमाले उच्च श्रोतले भन्यो ।