काठमाडौं । सात महिनामा वैदेशिक लगानी(एफडीआई) ६८ प्रतिशत बढेको छ । मुलुक स्थायी सरकार बन्ने दिशामा अघि बढेसँगै वैदेशिक लगानी समेत बढेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा १४ अर्ब १५ करोड रुपैयाँ वैदेशिक लगानीकर्ताले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । उक्त लगानी गएको आर्थिक वर्षको तुलनामा ६८ प्रतिशत बढी हो । गएको वर्ष सोही अबधिमा ८ अर्ब ४१ करोड रुपैयाँको मात्रै वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
अधिकांश क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता बढेको छ । गएको वर्ष कृषि तथा वन पैदावार क्षेत्रमा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता रहेकोेमा यस वर्ष सोही अबधिमा १२ गुणाबढी अर्थात १ अर्ब ८५ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । उत्पादन क्षेत्रमा गएको वर्ष १ अर्ब १४ करोड लगानी प्रतिबद्धता आएकोमा यो वर्ष ५ गुणा बढेर ५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । खानिज क्षेत्रको प्रतिबद्धता सबैभन्दाबढी ६६ गुणा बढेको छ । गएको वर्ष उक्त क्षेत्रमा ३ करोड मात्रै लगानी प्रतिबद्धता रहेकोमा चालु वर्षको सात महिनामा २ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता पुगेको छ ।
नयाँ क्षेत्रमा लगानी थपिदै
गएका वर्षहरुमा जम्मा वैदेशिक लगानीको क्षेत्र ७ वटा मात्रै थियो अहिले बढेर ८ वटा पुगेको छ । अहिले सूचना प्रशारण सञ्चार प्रविधि भन्ने नयाँ क्षेत्र थपिएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लगानी बढेसँगै यसको लागि छुट्टै क्षेत्र बनाउनु परेको विभागका निर्देशक खगेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार संसारमा यस क्षेत्रलाई छुट्टै महत्व दिदै आएको र नेपालमा पनि वैदेशिक लगानी बढेकोले सो क्षेत्र थपिएको हो । सूचना प्रशारण संञ्चार प्रविधि क्षेत्रमा गएको सात महिनामा मात्रै २६ करोडको वैदेशिक लगानी गर्ने प्रतिबद्धता आएको छ । औद्योगिक व्यवस्थापन ऐन ०७३ अनुसार उक्त क्षेत्र थप गरिएको विभागको भनाइ छ ।
त्यस्तै, लगानीको क्षेत्र भएपनि गएको वर्षको सात महिनाको अबधिमा शुन्य लगानी प्रतिबद्धता रहेको उर्जा क्षेत्रमा यस वर्षको सोही अबधिमा १ अर्ब ७० करोड रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको छ ।
पर्यटन र सेवा क्षेत्र गिरावट
अधिकांश क्षेत्रमा लगानी प्रतिबद्धता आइरहदा प्रचुर सम्भावना बोकेको र आवश्यकता ठानिएको पर्यटन र सेवा क्षेत्रमा भने लगानी प्रतिबद्धतामा गिरावट आएको छ । गत आर्थिक वर्षको सात महिनाको अबधिमा ३ अर्ब २९ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको पर्यटन क्षेत्रमा भने यस वर्ष ५६ प्रतिशतले कमी आइ १ अर्ब ४५ करोडमा सिमित भएको छ ।
त्यस्तै, सेवा क्षेत्रको लगानी प्रतिबद्धतामा पनि गएको वर्षको तुलनामा ६९ प्रतिशतले कमी आएको छ । गएको वर्षको सात महिनामा ३ अर्ब ७८ करोड वैदेशिक लागानी प्रतिबद्धता आएकोमा यस वर्ष घटेर १ अर्ब १५ करोडमा सिमित भएको छ ।
उद्योग विभागको प्रवक्ता दुर्गाप्रसाद भुसालले पछिल्लो सयम चीनका लगानीकर्ताहरुले कृषि, खनिज लागायतको क्षेत्रमा बढी लगानी गर्ने भएकोले उक्त क्षेत्रमा वैदेशिक लगानी बढेको बताए । ‘पछिल्लो समय मुलुकको विभिन्न स्थानमा चीनको लगानीकर्ताहरुले कृषि क्षेत्र, खानिजको खोज–तलास तथा अनुसन्धानमा लगानी बढाएको छ,’ उनले भने ‘यद्यपि सेवा तथा पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताको कम चासोे देखिएको छ ।’
चालु वर्षको सात महिनाको तथ्याङ्क अनुसार हालसम्म स्वदेशी र विदेशी गरी १६ अर्ब ८४ करोड रुपैयाँको विभिन्न क्षेत्रमा लागनी गर्ने प्रतिबद्धता आएको छ । उक्त लगानीमार्फत १७६ परियोजना सञ्चालन हुनेछन् भने त्यसबाट ६ हजार ९७२ जनाले प्रत्यक्ष रोजगार प्राप्त गर्ने भएको छ ।