काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर भन्दा लामो सुरुङ खनेको इटालियन कम्पनी सिएमसीलाई लिखु ४ जलविद्युत आयोजनाबाट निकालिएको छ ।

ठेक्का सम्झौता अनुसार काम नगरेपछि सिएमसीसँगको सम्झौता तोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी ग्रीन भेञ्चर्स प्रालीले गत मंसिरमा सिएमसीलाई आयोजनाको ठेक्का दिएको थियो । तर सम्झौता अनुसार काम नगरेपछि तीनपछि नै ठेक्का तोडिएको ग्रीन भेञ्चर्सका प्रबन्धक बद्रि रिजालले बताए ।
बिशाल गु्रप र त्रिवेणी ग्रुपको लगानी रहेको आयोजनाबाट सन २०२० मा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनामा नविल बैंकको अगुवाइमा लक्ष्मी बैंक, ग्लोबल आईएमई बैंक, एसबीआई बैंक, सनराइज बैंक, प्रभु बैंक र सानिमा बैंकले ऋण लगानी गरेका छन् । आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ रहेको रिजालले जानकारी दिए । उनका अनुसार विशाल र त्रिवेणी ग्रुपले २ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण र ग्रीनभेन्चर्सबीच वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायामको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा पीपीए भएको छ । ऊर्जा मन्त्रालयले ०६८ फागुनमा विद्युत् उत्पादन लाइसेन्स दिएको हो । आफैं निर्माण सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा बन्न लागेको आयोजनाको लाइसेन्स अवधि सन् २०९८ फागुनसम्मलाई छ । आयोजनाले लिखुमा पुल निर्माणका साथै ४६ किलोमिटर लामो सडक निर्माण, ४५० रोपनी जग्गा खरिद गरिसकेको छ । लिखुबाट वार्षिक ५३ करोड ४० करोड युनिट बिजुली उत्पादन हुने कम्पनीले गरेको अध्ययनले देखाएको छ ।
आयोजना राजधानीबाट २२० किलोमिटर टाढा रामेछाप र ओखलढुंगामा पर्छ । आयोजना ओखलढुंगाको रगनी, पोकली र रामेछापको सैपु, बिजुलकोट, नागदह र तिल्पुङमा पर्छ ।