टिकट अनिवार्य गर्दै साझा यातायात, टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था

<p>ललितपुर । साझा यातायातले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ । टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो । “यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका [&hellip;]</p>

ललितपुर । साझा यातायातले आफ्ना यात्रुका लागि टिकट अनिवार्य लिनुपर्ने नियम बनाउने भएको छ ।

टिकट नलिने यात्रु र नदिने कर्मचारीलाई कारवाही गर्ने तयारी गरिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । साझा यातायातमा चढ्दा कतिपय यात्रुले टिकट बेवास्ता गरेकाले टिकट नलिने/नदिनेलाई कारवाहीको व्यवस्था गर्न लागिएको हो । “यात्रुले टिकट लिन गाह्रो मान्ने गरेका छन्”, उनी भन्छन्, “यात्रुमा टिकट लिएर मात्र यात्रा गर्नुपर्छ भन्ने धारणा भइसकेको छैन ।”

यात्रुले टिकट नलिँदा चुहावटको सम्भावना रहने पाण्डेय बताउँछन् । “टिकट नलिँदा र नदिँदा यात्रुले भाडा नै तिरे/नतिरेको थाहा हुँदैन । टिकट नलिएको भाडा कार्यालयसम्म नआउन सक्छ”, उनी भन्छन्, “भाडा तिरेपछि टिकट लिनु यात्रु र साझा यातायात दुवैका लागि राम्रो हो । पैसा तिरेपछि रसिद माग्नु यात्रुको अधिकार हो ।”

काठमाडौं महानगरपालिकाले पाँच करोड रुपैयाँ र ललितपुर महानगरपालिकाले एक करोड रुपैयाँको साझा यातायातको शेयर किनेका छन् । यी दुवै महानगरपालिकासँग मिलेर नीति निर्माण हुने पाण्डेय बताउँछन् । दुई महानगरपालिकासहित अरु सरकारी निकाय गरेर ९७ प्रतिशत सरकारी लगानीमा साझा यातायात सञ्चालनमा छ ।

साझा यातायातले नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमसँगको सहकार्यमा विद्युतीय टिकट प्रणाली (इटिकेटिङ) समेत शुरु गर्ने तयारी गरेको छ । रासस

Share News