काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा जोगाउने अभियान सुरु गरेको छ । महानगरको वडा नं ३ मा साढे ६ आना जग्गामा बनेको एकतले भवन भत्काउदै महानगरले सार्वजनिक स्थललाई खुल्ला बनाउने अभियान थालेको हो ।
अभियानको सुरु गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गामा सामाजिक कामका नाममा कुनै पनि भवन बनाउन नदिने बताए ।
‘भूकम्पपछि महानगरककाे विकासमा काम धेरै गर्न बाँकी रहेका छन्, सहरी सुन्दरता कायम गर्न, हरियाली बचाउन सार्वजनिक क्षेत्र मिची निर्माण गरिएको भवन भत्काउन सुरु गरेका हौं,’ मेयर शाक्यले भने ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले सहरी जीवन व्यवस्थापन सहजताका लागि थालिएको अभियानलाई सकारात्मक लिन र अभियानमा सहभागी हुन सहरबासीलाई आग्रह गरे ।
‘महानगर क्षेत्रभित्र धेरै सार्वजनिक जग्गा रहेको छ, वडा नं ३ मा मात्र पनि २०० रोपनीभन्दा बढी जग्गा छ, त्यसमध्ये आज साढे ६ आना जग्गा फिर्ता भएको हो,’ वडा नं ३ का वडाध्यक्ष दीपक केसीले भने ।

फिर्ता गरिएको जग्गा करीब ७ करोड मुल्य बराबरको भएको महानगरले जनाएको छ । यो सगै विश्व हिन्दू महासंघले प्रयोग गरेको २२ रोपनी र गायात्री समाजले प्रयोग गरिरहेको ४२ आना जग्गा पनि तत्काल फिर्ता ल्याउने महानगरले तयारी थालेको छ ।
वडा नं.३ मा भएको करीब २०० रोपनी सार्वजनिक जग्गामध्ये १३६ रोपनी क्षेत्रफल रानीबारीले ओगटेको छ । यसबाहेक चालु आर्थिक बर्षमा महानगरले १ अर्ब मूल्य बराबरको सार्वजनिक जग्गा सार्वजनिक उपयोगमा फिर्ता गराउने लक्ष्य राखेको छ ।